सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १८:४०

काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको बैठकमा भएका निर्णयहरु शुक्रबार गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । बैठकमा सरकारले तोकिएको उद्योग र व्यवसाय क्षेत्रमा विदेशी लगानीको ‘स्वचालित मार्ग’ (अटोमेटिक रूट)मार्फत लगानीमा रहेको माथिल्लो सीमा हटाउने निर्णय गरेको छ ।

Advertisement

यस निर्णयले विदेशी लगानीलाई सहज बनाउने र उद्योग विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, सरकारले बुटवल–पोखरा खण्डअन्तर्गत सिद्धार्थ राजमार्ग सुधार आयोजना अघि बढाउन एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध गरिने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, २०८२ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा भएको भौतिक र मानवीय क्षतिको छानबिनका लागि गठित आयोगको प्रतिवेदन पेस गर्ने म्याद २० दिन थप गर्ने निर्णय पनि बैठकमा भएको छ । यी निर्णयले लगानी वातावरण सुधार्ने, पूर्वाधार विकासलाई गति दिने उद्देश्य राखेको बताइएको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा खण्ड) सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग (अटोमेटिक रूट) बाट हुने विदेशी लगानीको माथिल्लो सीमा हटाउन स्वीकृति दिने ।

भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखि २४ गतेसम्म सञ्चालन हुने पहिलो साउथ एशियन एग्रोफरेस्ट्री एण्ड ट्रेस आउटसाइड फरेस्ट कन्फ्रेन्समा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियार र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने ।

२०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने ।

नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुस १५ देखि १७ गतेसम्म बंगलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको बंगलादेश भ्रमण समर्थन गर्ने ।

नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपयोग गर्न स्वीकृति दिने ।

नेपाल सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेको काभ्रेपलाञ्चोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नं. ३, सिन्धुपाल्चोकलाई उपयोग गर्न स्वीकृति दिने।

मिति २०८१–११–२७ मा प्रतिनिधि सभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई मिति २०८१–११–२७ गतेको अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने।

गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.