झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १८:५४

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापा क्षेत्र नम्बर ५ मा निर्वाचन तयारी पूर्णरूपमा तीव्र गतिले अघि बढिरहेको छ ।

अध्यक्ष ओलीको चुनावी अभियान सफल बनाउनका लागि ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ । समितिको संयोजकमा पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहाल नियुक्त भएका छन् । सहसंयोजकमा केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य दीपक कार्की र पार्टी केन्द्रीय सदस्य तथा अनेम संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्लेलाई जिम्मेवारी दिइएको छ ।

Advertisement

संयोजक दाहाल विगत २०४८ सालदेखि अध्यक्ष ओलीको चुनावी कमाण्डरको भूमिका निर्वाह गर्दै आएका नेता हुन् । सहसंयोजक कार्की र काफ्ले पनि क्षेत्रीय चुनावी रणनीति निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने नेताहरू मानिन्छन् ।

गौरादह नगरपालिका शुक्रबार बसेको एमाले झापा ५ समन्वय कमिटीको बैठकले ५०१ सदस्यीय समितिको औपचारिक घोषणा गरेको हो । समितिका सदस्यहरूलाई ९ वटा उपसमितिमा पनि विभाजन गरिएको छ ।

कार्यालय सञ्चालन उपसमितिको संयोजकमा नारायण गौतम, प्रचारप्रसार तथा सामग्री व्यवस्थापन उपसमितिको संयोजकमा होमबहादुर थापा, प्रचारप्रसार उपसमितिको संयोजकमा दीपक कार्की, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा रोमनाथ ओली, स्वयंसेवक परिचालन उपसमितिको संयोजकमा गोविन्द थापा, प्रशासन समन्वय उपसमितिको संयोजक देवेन्द्र दाहाल, सञ्चार क्षेत्र बाहिर रहेका मतदाता समन्वय उपसमितिको संयोजकमा इन्द्रप्रसाद भण्डारी तथा कानुनी परामर्श उपसमितिको संयोजक नारायण भट्टराई रहेका छन् ।

निर्वाचन परिचालन समितिमा त्यहीँ घर भएका केन्द्रीय कमिटी सदस्य, केन्द्रीय आयोग, केन्द्रीय विभाग (हाल र पूर्व)सहित प्रदेश, जिल्ला, क्षेत्रीय कमिटी सदस्य, लेखा समिति, विभाग र सल्लाहकारहरू पनि समेटिएका छन् । क्षेत्रीय संयोजक एवं परिचालन कमिटीका सचिव नारायण गौतमका अनुसार अध्यक्ष ओलीलाई जिताउन सबै घरमा पुगेर मतदाता केन्द्रित कार्यक्रम सञ्चालन भइरहेको छ ।

झापा ५ बाट अध्यक्ष ओलीले २०४८ सालदेखि लगातार उम्मेदवारी दिँदै आएका छन् । २०६४ बाहेक ६ पटक निर्वाचित भइसकेका छन् । ४ पटक प्रधानमन्त्री भइसकेका ओलीको निर्वाचन क्षेत्रमा यसपटक काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि सबैको ध्यान यस क्षेत्रमा केन्द्रित भएको छ ।

यस क्षेत्रमा सबै राजनीतिक दलले अलगअलग उम्मेदवार खडा गरेका छन् । नेपाली कांग्रेसले मन्धरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मीप्रसाद सङ्ग्रौला र श्रम संस्कृति पार्टीले समीर तामाङलाई उम्मेदवार बनाएका छन् । यसैगरी, स्वतन्त्र उम्मेदवारसहित कुल २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

अध्यक्ष ओलीको चुनावी कमाण्डर देवेन्द्र दाहाल र सहकमाण्डरहरूको नेतृत्वमा निर्वाचन परिचालन समिति आफ्नो संगठनात्मक र रणनीतिक क्षमतामा पूर्ण रूपमा केन्द्रित रहेको बताइएको छ । यसपटकको चुनावी प्रतिस्पर्धा कडा र अप्रत्याशित बनेको छ । जसले झापा ५ लाई देशव्यापी चर्चामा पुर्याएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.