
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कुल ३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारमध्ये ३ हजार १७ जना पुरुष, ३ सय ८८ जना महिला र १ जना अन्य समूहबाट रहेका छन् । निर्वाचन आयोगले उम्मेदवारी दर्तादेखि उम्मेदवारी फिर्तासम्मको सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ ।
आयोगका अनुसार माघ ६ गते देशभर एकैसाथ उम्मेदवारी दर्ता प्रक्रिया सञ्चालन गरिएको थियो । उम्मेदवारहरूले तोकिएको कानुनी प्रक्रिया पूरा गरी मनोनयन दर्ता गराएका थिए ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी दर्ता, जाँच, फिर्ता र प्रारम्भिक सूची प्रकाशनसम्मका सबै चरणमा कुनै अवाञ्छित घटना नघटेको र निर्वाचनप्रति राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूको चासो उल्लेखनीय रहेको जानकारी दिए । उनका अनुसार उम्मेदवारी फिर्ता लिने समयसीमाभित्र ४९ जनाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिएका छन् ।
यसैबीच, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारहरूको नामावली सार्वजनिक भइसकेको छ। आयोगले शनिबार दाबी–विरोध दर्ता गर्ने समय तोकेको छ । सो अवधिमा प्राप्त हुने दाबी–विरोधको अध्ययन तथा छानबिनपछि अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार आगामी दिनमा अन्तिम उम्मेदवार सूची प्रकाशन, निर्वाचन चिन्ह वितरण, प्रचारप्रसार र मतदानसम्बन्धी तयारीलाई थप प्रभावकारी बनाइनेछ । आयोगले मतदाता, राजनीतिक दल र उम्मेदवारहरूलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न सबै पक्षको सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ ।
























