
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सार्वजनिक बहस (पब्लिक डिबेट)का लागि तयार भएका छन् ।
आगामी निर्वाचनको क्रममा प्रमुख नेताबीच सार्वजनिक बहस आयोजना गर्ने माग सकारात्मक रहेको भन्दै उनले आफू त्यसमा भाग लिन तयार रहेको बताएका हुन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ओलीले यसपटक चुनावमा पुराना, खुला र नयाँ दलहरू सबैले प्रधानमन्त्रीको उम्मेदवार प्रस्तुत गरेको बताए ।
देश बनाउने र जलाउने पक्षबीचको प्रतिस्पर्धामा नेकपा (एमाले) देश बनाउने पक्षमा रहेको उनको भनाइ छ । ओलीले भने, ‘देशको नेतृत्व गर्न खोज्ने दलहरूले अघि सार्ने एजेन्डा के हो, अघिल्लो कार्यकालमा के गरेका छन् र अब के योजना बनाएका छन् भन्ने विषयमा आमनेसामने बहसको माग अत्यन्त सकारात्मक छ । म यस्तो ‘पब्लिक डिबेट’मा उभिएर हामीले गरेका उपलब्धि र आगामी योजना प्रस्तुत गर्न पूर्ण रूपमा तयार छु ।’
उनले प्रधानमन्त्रीका उम्मेदवारहरूसँग सिधा प्रश्न सोध्ने मञ्चमा उभिएर आफ्नो एजेन्डा सार्वजनिक गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । ओलीले सबै पक्षलाई ‘पब्लिक डिबेट’मा ल्याउन आग्रह गरेका छन् । ओलीले यस्तो बहसले मतदातालाई दलहरूको वास्तविक चरित्र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

























