
जनकपुरधाम । नेपाली कांग्रेसले यही माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने तय गरेको मधेश प्रदेशस्तरीय चुनावी सभा स्थगित गरेको छ। निर्वाचन आयोगको निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले उक्त कार्यक्रम स्थगित गरिएको पार्टीले जनाएको छ।
मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार आयोगको आचारसंहिताप्रति प्रतिबद्ध रहँदै लोकतान्त्रिक मूल्य–मान्यताको सम्मानका लागि यो निर्णय लिइएको हो। यसअघि माघ १६ गते जनकपुरको चिरहोटियामा विशाल आमसभा गर्ने तयारी थियो, जसलाई सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गतेदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको छ। बदलिएको परिस्थिति र आयोगको निर्देशनअनुसार चुनावी सभाको नयाँ मिति र कार्यक्रम तालिका पछि सार्वजनिक गरिने प्रचार विभाग प्रमुख गुप्ताले जानकारी दिए।
























