
विराटनगर । सोमनाथ पोर्तेल राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् । मनोनयन दर्ताको अवधिसम्म प्रतिनिधिसभाको ‘समानुपातिक बन्द सूची’ मा परेका पोर्तेल, राष्ट्रियसभाको सदस्य निर्वाचित भएका छन् ।
एमाले, काँग्रेस र जसपा नेपालको गठबन्धनका कारण कोशी प्रदेशको दलित कोटाबाट उनी निर्वाचित मात्र भएनन्, निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पारे । उनले ७ हजार ४२३ मत प्राप्त गर्दा माओवादी केन्द्रका खेम सुन्दास २ हजार ३७ मत पाए ।
पोर्तेलको राष्ट्रियसभा यात्रा कुनै पूर्वनियोजित योजना जस्तो थिएन । मनोनयन दर्ताको दिनसम्म पनि उनी उम्मेदवार बन्ने चर्चामा थिएनन् । प्रतिनिधिसभाको बन्द सूचीमा नाम भएकै अवस्थामा उनले राष्ट्रियसभाका लागि मनोनयन दर्ता गरे र निर्वाचित भएपछि मात्र पुरानो सूचीबाट नाम हटाए ।
४७ वर्षीय पोर्तेल तीन दशक लामो राजनीतिक यात्रामा छन् । २०४७ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका उनले पार्टीको सबैभन्दा तल्लो तह ‘वडा कमिटी’ बाट काम सुरु गरेका थिए । गाउँ, जिल्ला र प्रदेश हुँदै उनी अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र र मुक्ति समाज नेपालका केन्द्रीय उपमहासचिवको जिम्मेवारीमा छन् ।
यसअघि २०७४ देखि २०७९ सालसम्म झापा जिल्ला समन्वय समितिको प्रमुखका रूपमा उनले स्थानीय सरकार सञ्चालनको जुन अनुभव बटुले, त्यसले नै उनलाई नीति निर्माण गर्ने माथिल्लो तहसम्म पुग्न आधार तयार गरिदियो । नेपाली राजनीतिमा राष्ट्रियसभालाई प्रायः सक्रिय राजनीतिबाट विश्राम लिन लागेका वा चुनाव हारेका ‘पाका’ नेता व्यवस्थापन गर्ने थलोका रूपमा हेरिन्छ ।
तर, पोर्तेल यो स्थापित भाष्यलाई चुनौती दिन चाहन्छन् । उनी भन्छन्, ‘राष्ट्रियसभा अवकाशप्राप्त नेताहरूको थलो मात्र होइन, यो त स्थानीय र प्रदेश सरकारको आवाज बोल्ने जीवन्त सदन हुनुपर्छ ।’
उनी थप्छन्, ‘मेरा मतदाता स्थानीय तह र प्रदेशका जनप्रतिनिधि हुन् । त्यसैले मेरो मुख्य ध्यान यो संरचनालाई कसरी बलियो र प्रभावकारी बनाउने भन्नेमै केन्द्रित हुनेछ ।’
























