
काठमाडौं । निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा जाजरकोटका उम्मेदवार शक्ति बस्नेतलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको छ। माघ ६ गते प्राप्त उजुरीका आधारमा छानबिन गर्दा आचारसंहिता विपरीतका गतिविधि गरेको देखिएकाले आयोगले उनीसँग जवाफ मागेको हो।
आयोगले जारी गरेको पत्रमा उम्मेदवारीका क्रममा बाजागाजा बजाउने जस्ता कार्य गरी आचारसंहिता उल्लंघन गरेको उल्लेख छ। यस्ता गतिविधि गरेको पाइएकाले किन निर्वाचन कानुन बमोजिम कारबाही नगर्ने भन्दै आयोगले बस्नेतलाई प्रश्न गरेको छ।
आयोगले पत्र प्राप्त भएको तीन दिनभित्र आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट वा निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका बस्नेत पूर्वमन्त्री तथा नेकपाका प्रभावशाली नेता हुन्।

























