मोरङ–१ : मेयरमा सफल खड्ग फागो प्रतिनिधिसभा उक्लिने दौडमा

Share this
736shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ माघ १२, सोमबार १७:३५

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य बन्ने दौडमा रहेका नेपाली कांग्रेसका नेता खड्ग फागो पछिल्ला दिनमा सक्रिय राजनीतिक उपस्थितिसहित जनतामाझ देखिन थालेका छन् ।

उर्लाबारी नगरपालिकाका पूर्वमेयरसमेत रहेका फागो स्थानीय तहमा कार्यकारी नेतृत्व सम्हालेर काम गरिसकेको अनुभव बोकेर संघीय संसदतर्फ उक्लिन खोजिरहेका नेता हुन् । २०७४ सलामा मेयरमा निर्वाचित भएर ५ बर्से कार्यकाल सफलपूर्वक सम्पन्न गरेका उनी त्यही अनुभव बोकेर प्रतिनिधिसभा उक्लिने दौडमा सक्रिय छन् ।

उनी नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री हुन् । हक्की र निडर स्वभावका राजनीतिज्ञ फागो उर्लाबारीको सफल मेयरका रूपमा चिन्छिन् । स्थानीय सरकार सञ्चालनको प्रत्यक्ष अनुभव, संकट व्यवस्थापनको व्यवहारिक अभ्यास र कानुनी प्रशासनिक प्रक्रियासँगको निकट संलग्नताले आफूलाई प्रतिनिधिसभाका लागि उपयुक्त बनाएको फागो बताउँछन् ।

स्थानीय तहमा प्रत्यक्ष काम गर्दा देखिएका समस्या, कमजोरी र सम्भावनालाई संघीय तहमा कानुन एवं नीतिमार्फत सम्बोधन गर्न सकिने भएकाले अबको राजनीतिक यात्रा प्रतिनिधिसभामै केन्द्रित हुनुपर्छ भन्ने निष्कर्षमा उनी पुगेका हुन् । उर्लाबारी नगरपालिकाको मेयरका रूपमा कार्यरत रहँदा फागोले कोरोना महामारीजस्तो अभूतपूर्व संकटको प्रत्यक्ष सामना गरे ।

देशव्यापी लकडाउन, स्रोतसाधनको अभाव र जनताको दैनिक जीवन संकटमा परेको अवस्थामा उनी स्वयं नगरका टोलटोल र बस्तीबस्तीमा पुगेर राहत व्यवस्थापनमा खटिएको स्थानीय बताउँछन् । उक्त अवधिमा उर्लाबारी नगरपालिकाभित्र ३ हजार ३ सयभन्दा बढी घरधुरीलाई खाद्यान्न, औषधि र पोषण सामग्री वितरण गरिएको थियो । फागो भन्छन्, ‘संकटको घडीमा नेतृत्व भनेको कार्यालयमा होइन । जनताको बीचमा देखिनुपर्छ ।’

कोरोना कालमै आफूविरुद्ध विभिन्न मुद्दा दर्ता गराइए पनि त्यसले जनसेवाको बाटोबाट विचलित नगरेको फागोको भनाइ छ । करिब ३ दर्जन मुद्दा खेप्नु परेको उल्लेख गर्दै उनले राजनीतिक प्रतिशोध र दबाबका बीच पनि नगरको हितलाई प्राथमिकतामा राखेर काम गरेको बताए । ‘मुद्दा लाग्नु राजनीति गर्नेका लागि नौलो कुरा होइन,’ उनी भन्छन्, ‘तर, मेरो ध्यान सधैं जनताको काममा केन्द्रित रह्यो ।’

मेयरका रूपमा आफ्नो कार्यकालमा उर्लाबारी नगरपालिकाको संस्थागत विकासमा उल्लेखनीय काम भएको फागो बताउँछन् । नगरपालिकाको प्रशासनिक संरचना सुदृढीकरण, वडागत विकास योजनाको प्रभावकारी कार्यान्वयन, सार्वजनिक प्रयोजनका लागि जग्गा व्यवस्थापन, विश्व बैंक सहयोगका परियोजनाहरू सञ्चालन, इलाका प्रशासन कार्यालय स्थापना तथा ५४ वटा ऐन, नियमावली, कार्यविधि र निर्देशिका निर्माणलाई उनी आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्छन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्ग फागो ।

फागोका अनुसार यी काम भौतिक उपलब्धि मात्रै नभएर स्थानीय शासनलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने आधार पनि हुन् । यही अनुभव र अभ्यासलाई संघीय संसदमा लैजाने उद्देश्यसहित आफू प्रतिनिधिसभाको तयारीमा लागेको उनको भनाइ छ ।

आगामी दिनमा प्रतिनिधिसभामा पुगेपछि कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता फागोले जनाएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, आर्थिक गतिविधि विस्तार, विकास निर्मार्ण, रोजगारी सिर्जना तथा दीर्घकालीन भौतिक पूर्वाधार विकास उनका प्रमुख एजेन्डा छन् । स्थानीय तहमा देखिएका कानुनी अस्पष्टता र कार्यान्वयनका समस्या समाधान गर्ने गरी प्रभावकारी कानुन निर्माणमा भूमिका खेल्ने उनको योजना छ ।

पार्टी राजनीतिबारे बोल्दै फागोले नेपाली कांग्रेस एकताबद्ध भएर निर्वाचनमा गएको बताएका छन् । पार्टीको निर्णयअनुसार उम्मेदवार बनेको स्पष्ट गर्दै उनले गुटबन्दीभन्दा समन्वय, सल्लाह र सहकार्यको राजनीतिलाई प्राथमिकता दिने बताएका छन् । ‘यो चुनाव व्यक्तिगत जितहारको विषय होइन,’ उनी भन्छन्, ‘यो पार्टी, कार्यकर्ता र मतदाताको साझा प्रयास हो ।’

चुनावी खर्चमा मितव्ययिता अपनाउने बताउँदै फागोले तडकभडकभन्दा जनतासँग प्रत्यक्ष संवादमा जोड दिने बताएका छन् । ‘म राजनीति ढाँटेर होइन, काम गरेर गर्न चाहन्छु,’ उनको भनाइ छ, ‘इमानदारी, जिम्मेवारी र जवाफदेहीपन नै मेरो राजनीतिक शैली हो ।’

उर्लाबारी नगरपालिकामा सफल मेयरका रूपमा पहिचान बनाएका फागो विशेषतः युवापंक्तिमाझ लोकप्रिय मानिन्छन् । स्थानीय तहमा कमाएको विश्वासलाई राष्ट्रिय तहमा रूपान्तरण गर्ने लक्ष्यसहित उनी अहिले मोरङ–१ का मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

स्थानीय अनुभव, स्पष्ट एजेन्डा र व्यवहारिक राजनीतिसहित संघीय संसद प्रवेश गर्ने उनको प्रयासले मोरङ–१ को चुनावी राजनीतिलाई थप चासोको विषय बनाएको छ । उक्त क्षेत्रबाट नेकपा (एमाले)ले घनश्याम खतिवडालाई उम्मेदवार बनाएको छ ।

खतिवडा २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका डिगबहादुर लिम्बूसँग पराजित भएका थिए । २०७४ को निर्वाचनमा भने खतिवडाले लिम्बूलाई नै पराजित गरेका थिए । मोरङ–१ बाट विभिन्न दल तथा स्वतन्त्र गरी १७ जना उम्मेदवार मैदानमा छन् ।

उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अज्ञमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पूर्णबहादुर वाईबा तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्जबाट दिलकुमारी लावती, राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गाकुमारी तामाङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट डिल्लीराम नेपाली, नेपाल जनमुक्ति पार्टीबाट फिवराज लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू र मितेरी पार्टी नेपालबाट डिल्लीराम लिम्बू उम्मेदवार छन् ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट कुलप्रसाद साम्बा, श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रीन लामा तथा स्वतन्त्रबाट पशुपति घिमिरे, मिलन भण्डारी, यामप्रसाद दाहाल, प्रेम वर्देवा र ईशोर वाग्ले उम्मेदवार छन् । सबै उम्मेदवार आआफ्ना एजेन्डासहित अहिले चुनाव केन्द्रित अभियानमा व्यस्त छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.