
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति गगन थापाप्रति बालेन शाहले दिएका अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
धर्मराज तिमिल्सिनाले दिएको उजुरीमा बालेनले प्रयोग गरेका ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू भ्रामक, अपुष्ट र मानहानिकारक भएको उल्लेख छ । उजुरीमा भनिएको छ, ‘यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा क्षति पुर्याउने, राजनीतिक दलप्रति जनघृणा फैलाउने र मतदाताको मानसिकता प्रभावित गर्ने खतरा रहेको छ ।’
तिमिल्सिनाले शाहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता, संविधान र प्रचलित कानुनविपरीत भएको भन्दै तथ्यपरक छानबिन गरी आवश्यक कारबाही गर्न आयोगसँग माग गरेका छन् । साथै, महोत्तरीलगायतका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा चुनावी प्रचारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिएको भिडियो सार्वजनिक भएको भन्दै यो पनि निर्वाचन आचारसंहिता उल्लंघन भएको उजुरीमा उल्लेख गरिएको छ ।
एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता शाह दुवैले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ओली र शाह प्रतिस्पर्धामा उत्रिएपछि त्यहाँको चुनावी माहोल रोचक एवं चर्चाको शिखरमा छ ।
























