बालेन चर्चामा, रवि छायामा

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १२, सोमबार १९:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को राजनीतिक सक्रियता उल्लेखनीय रूपमा बढेको छ ।

उनी माघ ४ गते काठमाडौं महानगरपालिकाको नगर प्रमुख (मेयर)बाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए । पार्टी केन्द्रिय कार्यालय घण्टीघर प्रवेशको क्रममा उनलाई शुभेच्छुक, समर्थक र पार्टीका नेताहरूले भव्य स्वागत गरे ।

भिडमा ‘हाइ हाइ’ गर्दै बालेनलाई देख्दा सभापति रवि लामिछाने भने स्वाभाविक रूपमा छायामा परेका थिए । त्यसयता बालेन चर्चामा भइरहँदा पार्टी सभापति रवि भने छायामै परिरहेका छन् ।

केन्द्रीय समितिको बैठकपछि बालेनसहित सभापति रवि, उपसभापति डोलप्रसाद अर्याल, प्रवक्ता मनिष झालगायतका शीर्ष नेताहरू जनकपुर पुगे । फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने सभालाई सम्बोधन गर्न उनीहरू मधेश पुगेका थिए ।

माघ ५ गते जनकपुरधामको तिरहुतियागाछीमा आयोजित कार्यक्रममा बालेन र रवि एकै मञ्चमा देखिए । बालेन मधेशी लवज र भेषभूषामा उपस्थित थिए भने रवि सभापतिका रूपमा प्रमुख अतिथि भए ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्ने ७ बुँदे सहमति गरिसकेको छ । महोत्तरी पुर्ख्यौली घर भएका बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गर्नुको रणनीति मधेशको जनमतलाई प्रभावित पार्ने लक्ष्यमा आधारित रहेको विश्लेषकहरू बताउँछन् । त्यसै कारण मधेशका जिल्लाहरुबाट जनकपुरमा उनको ‘क्रेज’को प्रत्याभूति हुने गरी ठूलो भिड पुगेको थियो ।

सभामा बालेनले मैथिली भाषा दिएको सन्तुलित अभिव्यक्तिले राष्ट्रियस्तरमै चर्चा पायो । तर, रविले प्रमुख अतिथिको रूपमा भाषण गरे पनि अपेक्षाकृत गुमनाम देखिन पुगे ।

माघ ६ गते बालेन आफ्नो उम्मेदवारी दर्ता गर्न झापाको दमक पुगे । यसैबीच, पूर्व–प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवारी दिएपछि बालेनको चर्चा थप व्यापक बनेको थियो । उम्मेदवारी दर्ता गरेको दिन पूर्वका जिल्लाबाट स्वतःस्फूर्त रूपमा समर्थकहरूको ठूलो भिड जम्मा भएको थियो ।

सभापति रवि भने अदालतका मुद्दामा व्यस्त थिए । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन छ । पर्सा जिल्ला अदालतले उनलाई १ करोड धरौटी माग गरेको थियो । अदालती प्रक्रियाको कारण उनले वारिसनामा मार्फत चितवन–२ मा उम्मेदवारी दर्ता गर्नु परेको थियो ।

पूर्वसरकारले रविविरुद्ध मुद्दा दर्ता गरे पनि हालको सरकारले महान्यायाधिवक्तामार्फत केही पहल गरेको छ । यद्यपि, सर्वोच्च अदालतमा रिट निवेदन समेत दर्ता भएको छ । रविविरुद्ध काठमाडौं, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्लामा मुद्दा विचाराधीन छन् । उनी पुर्पक्षका क्रममा ८ महिना जेल बसेका थिए । उच्च अदालत बुटवलको आदेश अनुसार मंसिरमा रिहा भएका हुन् ।

यसबीचमा बालेन फुर्सदिलो देखिँदै पूर्व–पश्चिम दौडाहामा सक्रिय छन् । उम्मेदवारी दर्तापछि इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा लगायतका जिल्लाको भ्रमणपछि काठमाडौं फर्किएका उनले पार्टीका नेताहरू र उम्मेदवारहरूसँग रणनीतिक छलफल गरेका छन् ।

राजनीतिक विश्लेषकहरू पार्टीभित्र रविको एकछत्र ‘क्रेज’ रहेका बेला बालेनको आगमनले सभापतिलाई छायामा पारेको चर्चा व्यापक रहेको बताउँछन् । तर, नेता शिशिर खनालका अनुसार बालेन देश दौडाहामा हुनु स्वाभाविक हो र रवि छायामा परेका होइनन् । निर्वाचन आचारसंहिता र मुद्दामामिलाका कारण सार्वजनिक सभामा अनुपस्थित रहेका रवि पार्टी गतिविधिमा सक्रिय नै छन् ।

रास्वपाले आगामी निर्वाचनका लागि १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । त्यस क्रममा सामाजिक लोकप्रियता प्राप्त अनुहारलाई प्राथमिकता दिइएको छ भने समानुपातिक बन्दसूचीमा समेत ‘सेलिब्रेटी’ र लोकप्रिय व्यक्तिहरू समावेश छन् । २०७९ असारमा वैकल्पिक राजनीतिक दलको रूपमा स्थापना भएको रास्वपाले अघिल्लो निर्वाचनमा २१ सिट जितेको थियो ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई नयाँ र पुराना दलबीचको ‘जनमत सङ्ग्रह’को रूपमा हेरिएको छ । एमालेले यस निर्वाचनलाई देश निर्माण र विध्वंसबीचको लडाइँको रूपमा प्रस्तुत गरेको छ । रास्वपाभित्र अहिले रवि र बालेनको एउटै मिसन पार्टीलाई बहुमतमा पुर्‍याउनु रहेको छ ।

बालेन २०४८ सालदेखि पकड जमाएका प्रभावशाली नेता ओलीको निर्वाचन क्षेत्रबाट उठेका छन् भने रवि कानुनी झमेलामा परेका छन् । यसले अपेक्षाकृत परिणाम नआए पार्टीको भविष्यमा असर पर्न सक्छ भन्ने चासो बढाएको छ । नेताहरूका अनुसार रवि–बालेनको लोकप्रियतामा आधारित नेतृत्वले पार्टीलाई एकजुट राख्न कत्तिको सामर्थ्य राख्छ भन्ने विषय चर्चाको केन्द्रमा छ ।

उपसभापति डोलप्रसाद अर्यालले भने, ‘निर्वाचन आचारसंहिता अनुसार रवि जीले ठूलो सभामा भाग लिनु भएको छैन । तर, उहाँ पार्टीका सबै गतिविधिमा सक्रिय हुनुहुन्छ । मुद्दामामिला र आन्तरिक झमेलाले समय निकाल्न गाह्रो बनाएको छ । फागुन ४ पछि पार्टी गतिविधि बढाइनेछ ।’

यसरी बालेनको जनउभार र रविको कानुनी सीमितताबीच रास्वपाले चुनावी अभियानलाई अघि बढाइरहेको छ । पार्टीका लागि १६४ निर्वाचन क्षेत्र, सामाजिक लोकप्रियता र अनुभवको संयोजनले आगामी प्रतिनिधिसभा निर्वाचनमा नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.