
विराटनगर । एशियालाई सडक सञ्जालमार्फत जोड्ने महत्वकांक्षी योजनाका रूपमा अघि बढाइएको ‘एसियन हाइवे’अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको सडक स्तरोन्नति आयोजना सुरु भएको २ वर्ष बितिसक्दा पनि करिब ३५ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।
३ वर्षभित्रै निर्माण सक्ने लक्ष्यसहित थालिएको उक्त आयोजनाको प्रगति अपेक्षाभन्दा सुस्त देखिएपनि पछिल्ला दिनमा कालोपत्रको कामले गति लिन थालेको आयोजनाले जनाएको छ । आइतबारदेखि झापाको पाडाजुंगी क्षेत्रबाट पश्चिमतर्फ पहिलो चरणको एकतर्फी कालोपत्र सुरु गरिएको छ ।
एसियन राजमार्ग नम्बर २ अन्तर्गत पर्ने यो खण्ड निर्माणको जिम्मा पाएको पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार सम्झौता भएको २ वर्षको अवधिमा समग्रमा करिब ३५ प्रतिशत काम सम्पन्न भएको हो । उनले हाल देखिएको प्रगति उत्साहजनक भए पनि सुरुवाती चरणमा देखिएका विविध अवरोधका कारण लक्ष्यअनुसार गति लिन नसकेको बताए ।
काँकरभिट्टाबाट लौकहीसम्म करिब १ सय २० किलोमिटर सडक स्तरोन्नति गर्ने योजना भए पनि हाल ९५ दशमलव ७६ किलोमिटर सडक मात्रै ठेक्कामार्फत निर्माणाधीन अवस्थामा छ । आयोजनालाई पूर्वी र पश्चिमी खण्डमा विभाजन गरी काम भइरहेको छ ।
हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर सडकमा एकतर्फी रूपमा पहिलो चरणको कालोपत्र सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । पूर्वी खण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वी खण्डमा पनि करिब ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।
उनले निर्माण सामग्री समयमै र सहज रूपमा उपलब्ध भएमा आगामी दिनमा कामले थप तीव्रता पाउने बताए । विशेष गरी बजार क्षेत्र र घना बस्तीमा निर्माण सामग्री ढुवानी तथा व्यवस्थापन चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।
पूर्वी खण्डमा सडक विस्तारका क्रममा अवरोध बनेका बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । तर, पश्चिम खण्डमा भने यो काम करिब ४० प्रतिशतमा सीमित रहेको आयोजनाले जनाएको छ ।
बजार क्षेत्रभित्रका खम्बा सार्न बाँकी रहेकाले त्यहाँको काम अपेक्षित रूपमा अघि बढ्न नसकेको कार्यालयको स्वीकारोक्ति छ । पुल निर्माणतर्फ हेर्दा पनि प्रगति मध्यम स्तरमै देखिन्छ ।
आयोजनाको विवरणअनुसार पूर्वी खण्डमा ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पुल निर्माण ढिला हुँदा समग्र सडक निर्माणको समयतालिकामा असर पर्ने भएकाले यसलाई तीव्र बनाउने प्रयास भइरहेको आयोजनाले जनाएको छ ।
एसियन हाइवे नेपालका लागि मात्र नभएर सम्पूर्ण क्षेत्रीय व्यापार र यातायातका दृष्टिले रणनीतिक महत्वको आयोजना मानिन्छ । यो राजमार्ग थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बंगलादेश र भारत हुँदै नेपालको काँकरभिट्टा प्रवेश गर्नेछ ।
त्यहाँबाट पूर्व–पश्चिम राजमार्ग हुँदै भारतको दिल्ली पार गरेर पाकिस्तानको कराँचीसम्म पुग्ने दीर्घ मार्गको हिस्सा हो यो । नेपालका लागि यसले अन्तर्राष्ट्रिय व्यापार, ढुवानी र आवागमनमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।
एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा करिब ३० करोड अमेरिकी डलर लागत अनुमान गरिएको यो आयोजना विसं २०८० माघ १९ गतेदेखि औपचारिक रूपमा सुरु भएको हो । आयोजना अन्तर्गत सडकलाई ३ प्रकारका क्षेत्रअनुसार फरक–फरक चौडाइमा निर्माण गरिँदैछ ।
बजार क्षेत्रमा ५० मिटर चौडाइ, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने डिजाइन छ । समयमै निर्माण सम्पन्न भएमा समग्र मुलुकको आर्थिक गतिविधिमा यसले दूरगामी प्रभाव पार्ने विश्वास लिइएको छ ।
तर, २ वर्षमा एकतिहाइ प्रगति मात्रै भएको छ । अब बाँकी समयमा तीव्र बनाउँदै कामलाई व्यवस्थित रूपमा अघि बढाइने आयोजनाले जनाएको छ ।

























