
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सडक लगायतका ठूला विकास निर्माण गर्दा धार्मिक र सांस्कृतिक सम्पदामा कुनै असर पर्न नदिन निर्देशन दिएकी छन्।
राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ-तराई मधेश द्रुतमार्ग’ (फास्ट ट्र्याक) को निरीक्षणका क्रममा मंगलबार ललितपुरको खोकना पुगेकी प्रधानमन्त्रीले स्थानीयवासीको सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन्। उनले सम्पदा जोगाउनका लागि आवश्यक परे आयोजनाको रेखाङ्कन र सुरुवाती बिन्दु (जिरो पोइन्ट) समेत परिवर्तन गर्न सकिने उल्लेख गरिन्।
‘स्थानीयको विश्वासमा आघात नपुग्ने गरी विकासका काम अघि बढाउनुपर्छ, व्यावहारिक समाधान खोज्न म निर्देशन दिन्छु,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले भौतिक संरचना बनाउँदा खाली ठाउँ देख्नेबित्तिकै भवन ठड्याउने सोच त्याग्न आग्रह गर्दै विपद् र मेला-पर्वका लागि पर्याप्त खुला स्थान छाड्न सुझाव दिइन्।
निरीक्षणका क्रममा प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले द्रुतमार्गको प्रगति र चुनौतीबारे जानकारी गराएका थिए। टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री र परराष्ट्रमन्त्रीको समेत सहभागिता थियो।

























