
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको छ।
आयोगको माघ १० गतेको बैठकले सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकलाई यो जिम्मेवारी दिने निर्णय गरेको हो। आयोगका कानुन अधिकृत मोहनराज जोशीले निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन भए/नभएको अनुगमन गर्ने र उल्लङ्घन गर्नेमाथि कारबाही गर्ने अधिकारसहित उनीहरूलाई खटाइएको जानकारी दिए।
यसअघि आचारसंहिता उल्लङ्घनका उजुरीमाथि आयोगको केन्द्रीय कार्यालयले नै हेर्दै आएको थियो। अब भने जिल्लामै अनुगमन र कारबाहीको अधिकार दिइएकाले निर्वाचन व्यवस्थापन थप प्रभावकारी हुने आयोगले जनाएको छ।

























