
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सार्वजनिक सेवामा रहँदा आचार्यले आफ्नो वैधानिक आयभन्दा अस्वाभाविक रूपमा बढी सम्पत्ति आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। उनले गैरकानुनी रूपमा कमाएको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको छ।
अख्तियारका अनुसार आचार्य र उनको परिवारको वैधानिक आय ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ मात्र देखिन्छ। तर, उनीहरूको खर्च र बैंक मौज्दातको मूल्याङ्कन गर्दा कुल सम्पत्ति १० करोडभन्दा बढी देखिएको छ, जसमध्ये स्रोत नखुलेको पौने ७ करोड रुपैयाँलाई अख्तियारले बिगो कायम गरेको छ।
अवैध रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि अख्तियारले आचार्यकी श्रीमती लिली सुवेदीलाई पनि प्रतिवादी बनाएको छ।

























