
काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बनेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य कृष्णा केसीलाई पार्टीबाट निष्काशन गरेको छ। पार्टीको आधिकारिक निर्णयविरुद्ध गतिविधि गरेको भन्दै नेकपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।
केसी यसअघि माओवादी केन्द्रबाट बाँके–१ मा २०७४ र २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएकी थिइन्। उनी लुम्बिनी प्रदेश सरकारमा मन्त्रीसमेत बनेकी थिइन्। तर, यसपटक बाँके–१ मा पार्टीले टिकट नदिएपछि उनले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रलोपाबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी हुन्।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै केसीलाई कारबाही गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। निर्वाचन नजिकिँदै गर्दा पार्टी छोडेर अर्को दलबाट उम्मेदवार बनेका नेताहरूमाथि नेकपाले कडा निगरानी र कारबाही प्रक्रिया अघि बढाएको छ।
























