
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। बुधबार शीतल निवास पुगेर आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले राष्ट्रपतिलाई प्रतिवेदन हस्तान्तरण गरेको हो।
प्रतिवेदन बुझाउने क्रममा आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा लगायतको उपस्थिति थियो। राष्ट्रिय सभाको रिक्त १८ सिटका लागि यही माघ ११ गते देशभर मतदान भएको थियो।
उक्त निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालको गठबन्धन सबै सिटमा विजयी भएको थियो। प्रतिवेदन बुझाएसँगै अब निर्वाचित सदस्यहरूको शपथ ग्रहण र कार्यभार सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ।

























