
विराटनगर । आगामी फागुन २१ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ दलीय प्रतिस्पर्धामा मात्र सीमित छैन । यहाँ २ पुस्ताबीचको सोच र ऊर्जाको पनि प्रतिस्पर्धा बनेको छ ।
एकातिर नेपाली राजनीतिको केन्द्रमा रहेका ७५ वर्षीय अनुभवी कांग्रेस नेता डाक्टर शेखर कोइराला छन्, अर्को तर्फ एमाले नेता विनोद ढकाल छन् । नेपाली कम्युनिष्ट पार्टीका मजदुर नेता ओपेन्द्र राय पनि चुनावी मैदानमा छन् । रास्वपाबाट युवा नेतृ रुविना आचार्य चुनावी मैदानमा छिन् । चुनावी मैदानमा २५ वर्षीय ‘जेनजी’ उम्मेदवार वसन्त बुढाथोकी पनि मैदानमा छन् । चुनावी मैदानमा ‘हजुरबुवा र नाति’ पुस्ताको प्रतिस्पर्धा भइरहेको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइराला आफ्नो दशकौँ लामो राजनीतिक विरासत र अनुभवको भारी बोकेर चुनावी मैदानमा छन् । उनीसँगै नेकपा एमालेका विनोद ढकाल, ओपेन्द्र रायजस्ता स्थापित र पाका अनुहारहरू पनि यो प्रतिस्पर्धामा छन् । यही भिडमा उज्यालो नेपाल पार्टीबाट ‘चिम’ चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका वसन्त बुढाथोकी सबैभन्दा कान्छा उम्मेदवार हुन् ।
जेनजी उम्मेदवार बुढाथोकीले परम्परागत राजनीतिक भाषणभन्दा फरक शैलीमा चुनावी प्रचार गरिरहेका छन् । उनी आफू कान्छो उम्मेदवार भएको दाबी गर्दै भोट मागिरेका छन् । ‘म राजनीति गर्न होइन,’ मतदातासँग उनले भन्ने गरेका छन्, ‘तपाईंका समस्या बोक्न र तिनलाई समाधान गर्न आएको हुँ ।’
प्रविधिको प्रयोग र सामाजिक सञ्जालमार्फत पनि वसन्त मतदातामाझ पुगिरहेका छन् । डाक्टर कोइराला आफ्नो पुरानो साख र राष्ट्रिय राजनीतिको अनुभवलाई चुनावी मुख्य आधार बनाइरहेका छन् ।
उनलाई वसन्त बुढाथोकीजस्ता नवयुवाहरुले टक्कर दिइरहेका छन् । स्थानीय स्तरमा नयाँ अनुहार र फरक सोचप्रतिको बढ्दो आकर्षणले परम्परागत दलहरूलाई दबाब सिर्जना गरेको छ ।
त्योसँगै हजुरबुवा र नाति उमेरका उम्मेदवारबीच प्रतिस्पर्धा चलिरहेको छ । कुल १ लाख ३७ हजार ८ सय ३२ मतदाता रहेको मोरङ क्षेत्र नम्बर ६ मा १७ जना उम्मेदवार छन् ।
























