
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायले गोली चलाएको घटनाबारे आफूले कुनै आदेश नदिएको स्पष्ट पारेका छन् । त्यसबारे फैलाइँदै आएको प्रचारलाई ‘निराधार र भ्रामक’ भनेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै ओलीले संविधानले नै प्रधानमन्त्रीलाई आफ्नै नागरिकमाथि गोली चलाउने आदेश दिने अधिकार नदिएको उल्लेख गरेका छन् । उनका अनुसार माइतीघरमा बिहान सुरु भएको जेनजी युवाहरूको प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण थियो । न त्यहाँ गोली चलेको थियो, न लाठी प्रहार । बरु समस्या त्यसपछि सुरु भयो, जब शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा निषेधित क्षेत्रतर्फ मोडियो ।
ओलीको मुख्य प्रश्न यहीँ केन्द्रित छ ‘माइतीघरको शान्तिपूर्ण आन्दोलनबाट ती युवाहरूलाई संसद भवनजस्तो संवेदनशील र कानुनले बल प्रयोग गर्नैपर्ने स्थानतर्फ कसले, किन र कसरी लग्यो ? ओलीका अनुसार त्यस दिन करिब १२ बजेतिर घुसपैठ गर्ने तत्वहरू सक्रिय भए ।
ती समूहले प्रदर्शनरत युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ धकेल्न थालेको दृश्य सार्वजनिक रूपमा देखिएको उनको दाबी छ । आयोजकहरूले समेत बारम्बार घुसपैठ भएको जानकारी दिँदै युवाहरूलाई घर फर्किन आग्रह गरेको भए पनि केही समूहले योजनाबद्ध रूपमा बालबालिका तथा स्कुल ड्रेसमै रहेका नानीबाबुलाई अगाडि राखेर संसद भवनसम्म पुर्याउन खोजेको उनले बताए ।
‘उनीहरूलाई थाहा थियो — संसद भवनमा आक्रमण हुन थालेपछि सुरक्षा निकायले कानुनअनुसार बल प्रयोग गर्नैपर्छ’ ओलीले उल्लेख गरेका छन् । संसद भवन अगाडि आगो लगाउने प्रयास, विष्फोटक वस्तु प्रयोग र सुरक्षा फौजमाथि आक्रमण भएपछि स्थिति कानुनी रूपमा ‘आन्दोलन’ नभई ‘राज्यविरुद्धको हमला’मा परिणत भएको ओलीको तर्क छ ।
ओलीले त्यस दिनको घटनालाई स्मरण गर्दै ज्यान गुमाएका १९ जना नानीबाबुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले आफू त्यस घटनाबाट आजसम्म पनि मर्माहत रहेको बताएका छन् । घटनापछि तत्कालै पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग गठन गरिएको स्मरण गराउँदै उनले सत्य पत्ता लगाउने जिम्मेवारी संस्थागत प्रक्रियामै सुम्पिएको दाबी गरेका छन् ।
उनको भनाइमा सुरक्षाकर्मीहरूले सरकारको आदेशमा नभएर कानुनको सपथअनुसार काम गरेका हुन् । ‘संसारका जुनसुकै देशमा पनि संसद, राष्ट्रपति भवन, सर्वोच्च अदालतजस्ता संवैधानिक अंगहरू चौबीसै घण्टा हतियारसहित सुरक्षा घेरामा हुन्छन्,’ ओलीले लेखेका छन्, ‘सुरक्षाकर्मीहरूले सरकारको होइन, कानुनको आदेश मान्छन् ।’
ओलीले भदौ २४ गते आफ्नो राजीनामापछि सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालतलगायतका संरचनामाथि आक्रमण र आगजनी भएको थियो । त्यसले पनि केही समूहको उद्देश्य शान्तिपूर्ण आन्दोलन नभएर अराजकता फैलाएर देशलाई हिंसातर्फ धकेल्नु रहेको पुष्टि गर्ने उनको दाबी छ ।
‘माइतीघरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले कुनै बल प्रयोग गरेको थिएन । बानेश्वरको निषेधित क्षेत्र तोडिँदासम्म पनि गोली चलेको थिएन । तर, बालबालिकालाई अगाडि राखेर यस्तो संवेदनशील क्षेत्रमा पुर्याइयो, जहाँ कानुनले स्वतः बल प्रयोगको अवस्था सिर्जना गर्छ,’ ओलीले भने । ओलीले सामाजिक सञ्जालमा फैलाइँदै आएको गलत प्रचारमा नलाग्न नागरिकलाई आग्रह गर्दै आफू कुनै पनि सार्वजनिक मञ्चमा बसेर प्रश्नको उत्तर दिन तयार रहेको बताएका छन् ।
साथै, उनले पुनः माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसद भवनजस्तो संवेदनशील स्थानतर्फ कसले, किन र कसरी लग्यो ? भनेर प्रश्न गरेका छन् । यो प्रश्नको जवाफ खोज्नु नै सत्य र न्यायतर्फको पहिलो कदम हुनेमा ओलीको जोड छ ।
























