
काठमाडौँ। अफवाह फैलाएको कसुरमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई बुधबार साँझ हाजिर जमानीमा रिहा गरेको हो।
परिसरका डीएसपी कौशल बुढाथोकीले सफललाई हाजिर जमानीमा छाडिएको पुष्टि गरे। महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित गर्दै नकारात्मक टिप्पणी र अपशब्द बोलेको आरोपमा उनी माघ १३ गते पक्राउ परेका थिए।
सफलले महान्यायाधिवक्ताले विभिन्न मुद्दामा रकम लेनदेन गरेर मुद्दा फिर्ता लिने गरेको गम्भीर आरोप लगाएका थिए। सोही विषयलाई लिएर महान्यायाधिवक्ताको कार्यालयले कारबाहीका लागि माघ ८ गते काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो। प्रहरीले अनुसन्धान प्रक्रिया जारी राख्दै उनलाई हालका लागि रिहा गरेको हो।

























