
काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि भारत सरकारले नेपाललाई सुरक्षा सामग्री र सवारी साधनहरू हस्तान्तरण गरेको छ। बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच भारतले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि बजेटमा पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। मन्त्री खनालले भारतलाई नेपालको ‘फर्स्ट रेस्पोन्डर’ (पहिलो सहयोगी) का रूपमा चित्रण गर्दै सन् २०१५ को विनाशकारी भूकम्पको समयमा भारतले देखाएको तदारुकताको समेत स्मरण गरे।
जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी नयाँ सवारी साधनहरूले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ। अर्थमन्त्रीका अनुसार यी सामग्रीहरू सरकार आफैँले खरिद गर्नुपरेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो, जसलाई भारतीय सहयोगले न्यूनीकरण गरेको छ।
भारत सरकारले नेपाललाई उपहार स्वरूप कुल ६ सय ५० वटा सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। सोही अनुसार बिहीबारको कार्यक्रममा २ सय ५० वटा सवारी साधन हस्तान्तरण गरिएको हो भने बाँकी आगामी साताभित्र उपलब्ध गराइने भारतीय अधिकारीहरूले बताए। नेपाल र भारतबीचको सम्बन्ध छिमेकी मात्र नभई एक भरपर्दो विकास साझेदारको समेत रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भविष्यमा यो मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे।

























