तयार भएन कोशी प्रदेशसभा भवन, मासिक ८ लाख तिरेर वीरेन्द्र सभागृह भाडामा

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १९:०२

विराटनगर । कोशी प्रदेशको प्रदेशसभा अधिवेशन माघ २५ गतेका लागि आह्वान भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले माघ २५ गते विराटनगरको वीरेन्द्रसभा गृहमा प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् । जेनजी आन्दोलनको आवरणमा अराजक समूहले आगजनी र तोडफोड गरेर गत भदौ २४ गते प्रदेशसभा भवन र सचिवालय ध्वस्त पारेको थियो । सभा र सचिवालय जलेपछि विराटनगरसँगै जोडिएको कटहरीमा रहेको कृषि बजारको भवनमा प्रदेशसभा सारिएको छ ।

सारिएको स्थानमा प्रदेशसभाका लागि संरचना तयार नभएपछि वीरेन्द्र सभागृहमा अधिवेशन सञ्चालनको तयारी भएको प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिए । उनका अनुसार प्रदेशसभाको बैठक कक्ष निर्माणका लागि ठेक्काको चरणमा छ । ठेक्का लागेर नयाँ संरचना तयार नभएसम्मका लागि वीरेन्द्रसभा गृहमा बैठक सञ्चालन हुनेछ ।

बैठक सञ्चालनका लागि प्रदेशसभाले मासिक ८ लाख रुपैयाँ शुल्क तिर्ने गरी वीरेन्द्रसभा गृह ६ महिनाका लागि भाडामा लिनेछ । मासिक ८ लाखका दरले प्रदेश सरकारले ६ महिनाको भाडा बापत ४८ लाख रुपैयाँ विराटनगर महानगरपालिकालाई तिर्नेछ । यो रकम दैनिक २६ हजार ६ सय ६७ रुपैयाँ हुन आउँछ ।

प्रदेशसभा सचिव खड्काका अनुसार महानगरपालिकासँग सम्झौता भने भइसकेको छैन । ६ महिनाका लागि भाडाको सम्झौता गर्ने तयारी भइरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.