
विराटनगर । निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झन्डाको दुरुपयोग भएको भन्दै तत्काल रोक्न मोरङका राजनीतिक दलहरूले आग्रह गरेका छन् । राष्ट्रिय झन्डा बोकेर हिँड्ने मात्रै राष्ट्रवादी नहुने उनीहरूको भनाई छ । राष्ट्रिय झन्डाको प्रयोग संविधानले व्यवस्था गरे अनुसारको गर्नका लागि नेताहरूले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह गरेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता पालना लगायतबारे मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका राजनीतिक दल, स्वतन्त्र उम्मेदवार, निर्वाचनका पर्यवेक्षक, मानव अधिकारकर्मी, सञ्चारकर्मीहरू लगायतसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रममा जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष मो. नसरुलले उम्मेदवारहरूले राष्ट्रिय झन्डाको दुरुपयोग गरेको बताए । उनले राष्ट्रिय झन्डाको प्रयोग कसरी गर्ने भन्ने सामान्य जानकारी पनि नभएकाहरूले झन्डाको दुरुपयोग गरेको भन्दै गुनासो गरे ।
उज्यालो नेपाल पार्टी मोरङका अध्यक्ष देवराज कार्कीले राष्ट्रिय झन्डाको दुरुपयोग बढेकाले तत्काल नियन्त्रण गर्न माग गरे । निर्वाचनका उम्मेदवारले राष्ट्रिय झन्डा बोकेर हिँड्नु ठिक नभएको उनले बताए । जनमत पार्टीका मोरङ इन्चार्ज जीवन गुप्ताले मोरङमा उम्मेदवारहरूले राष्ट्रिय झन्डा प्रयोग नगर्ने गरिएको व्यवस्था गर्न आग्रह गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मोरङका अध्यक्ष मिक्सम मिभकले राष्ट्रिय झन्डाको दुरुपयोग बढेको बताए । नियमनकारी निकायले झन्डाको दुरुपयोग रोक्न माग गरे ।
सर्वपक्षीय छलफल कार्यक्रममा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा, नेकपा माओवादी, राप्रपालगायतका दलका प्रमुख तथा प्रतिनिधिहरूले निर्वाचन भयरहित बनाउनुपर्नेमा जोड दिए । राजनीतिक दलहरूले पनि भयरहित वातावरण बनाउन सहयोग गर्ने उनीहरूको प्रतिबद्धता जनाए ।
स्वतन्त्र उम्मेदवारहरूले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिए । उनीहरूले सञ्चार माध्यमले ठुला राजनीतिक दलका उम्मेदवारका बारेमा मात्रै समाचार प्रकाशन र प्रसारण गरिएको भन्दै आपत्ति जनाए ।
मोरङका मुख्य निर्वाचन अधिकृत भीष्म प्रसाइँले आचारसंहिताको प्रभावकारी पालनाका लागि उम्मेदवारहरू समक्ष आग्रह गरे । उनले मतदानको १७ दिन अघिदेखि मात्रै प्रचारप्रसार गर्न पाइने भएकाले फागुन ४ गतेदेखि प्रचारप्रसारका कार्यक्रम गर्न पाइने बताए । उनले उम्मेदवारको आर्थिक पाटोलाई व्यवस्थित गर्नका लागि हरेक जिल्लामा कोलेनिकाका प्रमुखको संयोजकत्वमा र आमसभा, जुलुस, आचारसंहिता उल्लंघन लगायतबारे सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमनको प्रबन्ध भएको बताए । उनले उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षालाई ध्यान दिएर काम भइरहेको बताए ।
मुख्य निर्वाचन अधिकृत प्रसाइँले मोरङका १, २ र ३ का उम्मेदवारको अधिकतम खर्च सीमा ३१ लाख र ४, ५ र ६ का उम्मेदवारको २९ लाख रहेको बताए । उम्मेदवारले अलग्गै बैंक खाता खोली सोही खाताबाट निर्वाचन खर्च गर्ने व्यवस्था गरिएको उनले बताए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आमसभा गर्ने स्थान एउटै हुने भएकाले फागुन ४ पछि पूर्व स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे । उनले आचारसंहिता उल्लंघनबारे उजुरी आउने वित्तिकै कारबाही प्रक्रिया अघि बढाइने बताए ।
























