
काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त प्रणालीको प्रभावका कारण देशका विभिन्न भू–भागको मौसममा आंशिक परिवर्तन देखिएको छ भने आज (शुक्रबार) उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र हल्का वर्षाको सम्भावना रहेको छ छ । महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
विशेषगरी तराई क्षेत्रका जिल्लामा बिहानको समयमा दृश्यता कम हुने अवस्था देखिएको छ । यसका साथै कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो यथावत् रहने अनुमान गरिएको छ भने देशका अधिकांश भागमा आंशिक बदली रहनेछ । मौसमविद्हरूका अनुसार गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका १–१ स्थानमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना रहेको छ ।
यस्तो अवस्था विशेषगरी मनाङ, मुस्ताङ, लमजुङ र आसपासका उच्च भूभागमा देखिन सक्ने महाशाखाको आकलन छ । त्यसैगरी, राति पनि तराईका केही भू–भागमा हुस्सु लागिरहनेछ भने देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा १–१ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ । महाशाखाले चिसो मौसमका कारण विशेषगरी बिहान र रातको समयमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्भावित हिमपातका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।

























