
विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर – ५ मा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले खडा गरेका उम्मेदवार भावी प्रधानमन्त्रीका आकाक्षी हुन् । चारपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले चुनौति दिइरहेका छन् । भावी प्रधानमन्त्री बन्ने योजनाअनुसार आएका दुवै नेताका कारण चुनावी सरगर्मी बढेको छ ।
ओली सातौं पटक चुनावी मैदानमा उत्रिएका हुन् । २०४८ सालयता सहजै चुनाव जित्दै (२०६४बाहेक) आएका ओलीलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेका शाहले टक्कर दिएका छन् । मतदाता नयाँ र युवा भएका कारण बालेनप्रति आर्कशित छन् । पार्टी भित्रको असन्तोष र मतदाताको असन्तुष्टिका कारण ओलीलाई चुनौति छ । जेनजी आन्दाेलनपछि उनकाे लाेकप्रियता घटेकाे छ । तर, नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । सामाजिक सञ्जालको हल्लाखल्लाले केही प्रभाव परेको भए पनि मतदाताको कुरामा आफूहरू सो क्षेत्रमा सुरक्षित अवस्थामा रहेको जिकिर गरे । तर, दमकका एमाले नेताहरु ओलीका लागि यो निर्वाचन चुनौतिपूर्ण देख्छन् । ओलीको अलोकप्रियता र बालेनको क्रेजले गर्दा रिजल्ट जस्तो पनि आउनसक्छ ।
झापा क्षेत्र नम्बर ५ मा ९ जना स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवार संख्या २४ भएपति मुख्य प्रतिस्पर्धा ओली र बालेनबीच नै हुनेछ ।
झापा दमका पूर्वप्राध्यापक मोहन भण्डारी अघिल्ला निर्वाचन सहजै जित्दै आएका ओलीलाई यो पटक चुनावी चुनौती ठूलो देख्छन् । झापा क्षेत्र नम्बर ५ बालेनका लागि पनि चुनौती रहित क्षेत्र होइन । यो भूगोलदेखि चुनावी प्रतिस्पर्धा नै बालेनका लागि नयाँ हो ।
कमल गाउँपालिकामा रहेका राप्रपाका सक्रिय कार्यकर्ता माधव मिश्र बालेन शाहको आगमनले प्रतिस्पर्धा रोचक हुने बताउँछन् ।
झापा क्षेत्र नम्बर ५ मा यसअघि दुई निर्वाचनमा राप्रपाले ओलीलाई समर्थन गरेको थियो । तर, यो पटक राप्रपाले आफ्नै उम्मेदवार उठाएको छ । राप्रपा कार्यकर्ता मिश्रका अनुसार विगतमा ओलीको फराकिलो जितमा निर्णयक मत राप्रपा पनि थियो ।
नेकपा एमाले दमक नगरकमिटी अध्यक्ष श्याम पौडेल एमालेको जनमत पोखरीजस्तो भएका कारण जो कोही आउँदा फरक नपर्ने बताउँछन् । एमालेको संगठन जमेको पोखरी जस्तो भएर बसेको बताउँदै उनले दरिलो संगठन भएका कारण बाहिरका उम्मेदवारले चुनाव जित्न नसक्ने बताए ।
तीन वर्षअघि भएको संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीको २३ हजार ७ सय ४३ मत पाएका थिए । तेस्रो भएका रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए ।
समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८७२ मत ल्याउँदा दोस्रो भएको रास्वपाले १८ हजार २ सय ५ मत ल्याएको थियो । कांग्रेसले १६ हजार ८५९ मत पाएको थियो । फागुन २१ को निर्वाचनमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् ।
























