
भोजपुर । भोजपुरको राजनीतिक इतिहासमा कठोर संघर्ष गरेका प्रजातान्त्रिक योद्धा दिवानसिंह राईको सालिक निर्माण गरिएको छ । उक्त सालिकको अनावरण गरिएको छ ।
भोजपुर नगरपालिकास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय बीपी स्मृति भवन परिसरमा निर्माण गरिएको सालिकको शुक्रबार एक औपचारिक कार्यक्रमबीच अनावरण गरिएको हो । सालिक अनावरण प्रजातान्त्रिक आन्दोलनका अग्रपंक्तिका योद्धा राईकी छोरी तथा पूर्वसभासद कुमारी लक्ष्मी राईले गरेकी हुन् ।
कार्यक्रममा सहभागी नेता, कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि र स्थानीय बासिन्दाले दिवानसिंह राईले नेपाली लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै उनको त्याग र बलिदान भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताएका थिए । लामो समयसम्म निरंकुश शासनविरुद्ध आवाज उठाएका राईको जीवन एउटा व्यक्तिको कथा नभई नेपालको राजनीतिक इतिहासकै एउटा महत्वपूर्ण अध्याय भएको वक्ताहरूको धारणा थियो ।
दिवानसिंहको जन्म भोजपुरको तत्कालीन छिनामखु गाविसमा १९८१ सालमा भएको हो । युवावस्थादेखि नै प्रजातन्त्रप्रति गहिरो विश्वास राख्ने राई नेपाली राजनीतिमा सक्रिय हुँदै गए ।
२०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा गठन भएको निर्वाचित सरकारमा उनले गृहराज्यमन्त्रीको जिम्मेवारी सम्हाले । त्यो समय नेपाली राजनीतिमा ऐतिहासिक मोडको समय थियो । जहाँ जननिर्वाचित सरकारले लोकतान्त्रिक मूल्य र संस्थागत शासन प्रणालीलाई मजबुत बनाउने प्रयास गरिरहेको थियो ।
तर, २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि मुलुक फेरि निरंकुशतर्फ धकेलियो । प्रजातन्त्रको पक्षमा उभिएका नेताहरू दमनको निशानामा परे । त्यसै क्रममा दिवानसिंह राई पनि पक्राउ परे र २०१७ साल पुस १ गतेपछि निरन्तर ८ वर्षसम्म सुन्दरीजल जेलमा राखिए ।
जेलमा उनी बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र र योगेन्द्रमान शेरचनजस्ता प्रजातान्त्रिक आन्दोलनका शीर्ष नेताहरूसँगै बन्दी जीवन बिताउन बाध्य भए । त्यो समय शारीरिक कष्ट मात्र नभएर विचार र आत्मबललाई पनि परीक्षण गर्ने कालखण्ड थियो ।
जेल जीवनपछि पनि राई राजनीतिक र सामाजिक गतिविधिबाट अलग रहेनन् । उनी शिक्षा र सामाजिक चेतनाको माध्यमबाट समाज रूपान्तरणमा लागिरहे । छोरी कुमारी लक्ष्मीका अनुसार जेलबाट मुक्त भएपछि पनि उनले राजनीतिक आन्दोलनलाई निरन्तरता दिँदै युवापुस्तालाई राजनीतिक चेतनाबारे प्रशिक्षित गर्ने कार्यमा सक्रिय रहेका थिए ।
उनी राजनीतिज्ञ मात्र नभएर साहित्यकार पनि थिए । ‘निर्दोष हत्या’ र ‘रिकुटे’जस्ता कृतिहरू उनको साहित्यिक योगदानका उदाहरण हुन् । जसमा तत्कालीन समाज, राज्यसत्ता र मानवीय पीडाका विषयहरू गहिराइमा प्रस्तुत गरिएको पाइन्छ ।
दिवानसिंह राईको जीवनको अन्त्य पनि अत्यन्त पीडादायी र रहस्यमय रह्यो । २०२९ साल भदौ २ गते कुमकुम झोडामा उनको हत्या भयो । प्रजातान्त्रिक आन्दोलनका दृढ योद्धाको यसरी हत्या हुनु नेपाली राजनीतिक इतिहासको दुःखद् घटना मानिन्छ । उनको हत्या आजसम्म पनि लोकतान्त्रिक आन्दोलनमा संलग्नहरूका लागि गहिरो पीडाको विषय बनेको छ ।
सालिक अनावरण कार्यक्रममा बोल्दै कुमारी लक्ष्मीले आफ्ना बुबाको संघर्ष, जेल जीवन र बलिदान परिवारको मात्र नभई सम्पूर्ण लोकतन्त्रप्रेमी नेपालीको साझा इतिहास भएको बताइन् । ‘उनले सत्ता, सुविधा र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर लोकतन्त्रका लागि जीवन समर्पण गर्नु भयो,’ उनले भनिन्, ‘आजको पुस्ताले यो इतिहास बुझ्नुपर्छ र प्रजातान्त्रिक मूल्यको रक्षा गर्न सजग रहनुपर्छ ।’
























