
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश जलाउने र बनाउने शक्तिबीच प्रतिस्पर्धा हुने बताएका छन्। शनिबार काठमाडौँको चाबहिलमा ओखलढुङ्गा-काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै आगामी निर्वाचनमा देश हार्न नहुने जिकिर गरे।
ओलीले १६५ निर्वाचन क्षेत्रमध्ये एउटै ठाउँमा पनि देश हार्न नहुने भन्दै कार्यकर्तालाई देश विजयी बनाउन निर्देशन दिए। सम्बोधनका क्रममा उनले आफ्नो निर्वाचन क्षेत्र झापा-५ मा प्रतिस्पर्धीका रूपमा देखिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) तर्फ लक्षित गर्दै कडा व्यङ्ग्य गरे। बालेनको नाम नलिई उनले भने, ‘ठुटे सिङ लिएर सिँगौरी खेल्न आएका छन्। अण्डा दुई प्रकारका हुन्छन्- एउटा बतासे र एउटा साँच्चैको। बतासे अण्डाबाट चल्ला निस्किँदैन।’
नयाँ उदाउँदै गरेका शक्तिहरूसँग न सङ्गठन, न विचार, न त कुनै निश्चित उद्देश्य रहेको ओलीको दाबी छ। उनीहरूलाई केवल तोडफोड, आगजनी र लुटपाट गर्न मात्र आउने र यस्ता कार्यलाई क्रान्ति भनेर भ्रम फैलाइएको उनले बताए। उनीहरू धर्तीमा जनतासँग नपुगी ‘आकाशे खेती’ गरिरहेको र मोबाइलको माध्यमबाट देशमा होहल्ला मच्चाइएको उनको टिप्पणी थियो। अध्यक्ष ओलीले एमाले जनताको साथमा रहेको र देशलाई समृद्ध तथा सुखी बनाउने गन्तव्यबाट आफूहरू विचलित नहुने प्रस्ट पारे।
























