
काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई सबै जिल्ला तथा निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले संगठनलाई चुनावी मैदानमा प्रभावकारी बनाउन र बलियो नतिजा निकाल्न केन्द्रीय टोलीलाई तल्लो तहसम्म खटाउने जानकारी दिए।
प्रवक्ता चालिसेले जनताबाट निरन्तर अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने तर्क गर्दै व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताए। ‘पार्टी पुरानो हुँदैन, हामीले नयाँ विचार र नेतृत्व दिने हो,’ उनले भने, ‘विश्वभर नै पुराना पार्टीहरूमा नयाँ नेतृत्व उदाउने प्रक्रियाबाटै भरोसायोग्य भविष्य निर्माण हुन्छ।’
लोकतान्त्रिक अभ्यासमा नागरिकको मत नै निर्णायक हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने बताए। कांग्रेस नै देशको भविष्य निर्माण गर्ने मुख्य शक्ति भएको दाबी गर्दै उनले सोही विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएको बताए।
























