कांग्रेस: भारतमा व्यापार गर्ने व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाएको भन्दै उजुरी

Share this
801shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १७, बिहीबार १०:२१

काठमाडौँ । नेपाली कांग्रेस सर्लाहीले पार्टीको संगठनमा कहिल्यै नदेखिएका र भारतमा व्यापार गर्दै आएका व्यक्तिलाई समानुपातिक उम्मेदवार सिफारिस गरिएको भन्दै तीव्र विरोध जनाएको छ। सर्लाही कांग्रेसका कार्यवाहक सभापति डा. सरोज कुमारले पार्टी केन्द्रीय कार्यालय सानेपालाई पत्र लेख्दै उक्त निर्णयप्रति आपत्ति जनाएका हुन्।

जिल्ला कार्यवाहक सभापति डा. सरोजका अनुसार समानुपातिक सिफारिसमा परेका मो. अन्सार खाँ कुनै पनि पार्टी समितिबाट सिफारिस भएका व्यक्ति होइनन्। उनी विगत २०–२५ वर्षदेखि भारतको लुधियानामा व्यवसाय गर्दै आएका र पार्टी संगठनमा कहिल्यै सक्रिय नभएको दाबी गरिएको छ।

‘पार्टीको कुनै पनि तहबाट सिफारिस नभएका र वर्षौँदेखि विदेशमा व्यापार गरिरहेका व्यक्ति कुन मापदण्डका आधारमा समानुपातिक सदस्यमा परे? यो आश्चर्यजनक छ,’ केन्द्रलाई पठाइएको पत्रमा प्रश्न गरिएको छ।’

केन्द्रीय समितिको यस्तो निर्णयले जिल्लामा दिन-रात खटिएका इमानदार कार्यकर्ताको मनोबल गिरेको सर्लाही कांग्रेसको ठम्याइ छ। पहुँच, पावर र पैसाको भरमा अवसरवादी व्यक्तिलाई प्राथमिकता दिँदा संगठनभित्र निराशा र विद्रोहको भावना सिर्जना भएको पत्रमा उल्लेख छ।

‘पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बेला यस्ता गलत निर्णयले संगठनलाई थप क्षति पुर्‍याउँछ,’ पत्रमा भनिएको छ, ‘जीवनभर पार्टीका लागि समर्पित हुनेहरूको भावना कुल्चिने काम भएको छ।”

सर्लाही कांग्रेसले विवादित नामहरू तुरुन्त सच्याउन र आगामी दिनमा अवसरवादीहरूलाई पाखा लगाई संगठनमा लामो समय योगदान दिएका व्यक्तिहरूलाई प्राथमिकता दिन माग गरेको छ। जिल्लाको भावना विपरीत गरिएका यस्ता निर्णयले आगामी निर्वाचनमा समेत असर पार्न सक्ने चेतावनी दिइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.