
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आचारसंहिता लागू गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विगतका निर्वाचनहरूको अभ्यास अनुसार मतदान हुनुभन्दा ५० देखि ५२ दिन अगाडि नै आचारसंहिता लागू गरिने जानकारी दिएका हुन्।
आयोगले राजनीतिक दल र सरोकारवालाहरूसँगको व्यापक परामर्शपछि आचारसंहिता पारित गरिसकेको छ। यस पटकको आचारसंहितामा सूचना प्रविधिको प्रयोगलाई नियमन गर्ने र ‘हरित निर्वाचन’ को अवधारणालाई प्राथमिकता दिने नयाँ प्रावधानहरू समेटिएका छन्। जस अनुसार प्लास्टिकजन्य निर्वाचन सामग्रीको प्रयोगमा पूर्ण रोक लगाउँदै भर्चुअल माध्यमबाट गरिने प्रचारप्रसारलाई प्रवर्द्धन गर्ने नीति लिइएको छ।
आचारसंहितामा राजनीतिक दलहरूको चुनावी घोषणापत्र र त्यसको जवाफदेहितालाई पनि विशेष जोड दिइएको छ। दलहरूले मत माग्न जाँदा अनिवार्य रूपमा घोषणापत्र लैजानुपर्ने र निर्वाचन पश्चात् उक्त घोषणापत्र कति कार्यान्वयन भयो वा भएन भन्ने विषयमा प्रतिवेदन तयार पारी सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, उम्मेदवारहरूले गर्न पाउने अधिकतम खर्चको सीमा निर्धारण गरिएको छ भने सम्पूर्ण निर्वाचन खर्च बैंक खातामार्फत मात्र गर्नुपर्ने अनिवार्य प्रावधान राखिएको छ। निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन आयोगले यस्तो रणनीति अख्तियार गरेको हो।

























