
विराटनगर । झापाको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले एकल नाम सिफारिस गरेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम एकल रूपमा सिफारिस भएको हो । शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले सर्वसम्मत निर्णय गर्दै ओलीलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।
जिल्ला कमिटी सचिव तुलसी कार्कीका अनुसार बैठकले झापा–५ बाट अध्यक्ष ओलीको नाममा कुनै विकल्प नराखी एकल सिफारिस गर्ने निर्णय लिएको हो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तय भएसँगै राजनीतिक दलहरूले आआफ्ना क्षेत्रमा उम्मेदवार छनोट र सिफारिसको प्रक्रिया तीव्र बनाएका छन् ।
यसअघि पनि ओली यही क्षेत्रबाट २ पटक निर्वाचित भइसकेका छन् । २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी झापा–५ बाट विजयी भएका थिए । झापामा कुल ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।
पार्टी नेतृत्व र स्थानीय संगठन दुवै तहबाट ओलीको नाम एकल रूपमा सिफारिस हुनु एमाले झापा संगठनभित्र अध्यक्ष ओलीप्रतिको राजनीतिक भरोसा र निरन्तरताको संकेतका रूपमा हेरिएको छ ।
























