
संखुवासभा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अब निर्वाचनतर्फ पूर्ण रूपमा केन्द्रित भइसकेको बताएका छन् ।
संखुवासभा सदरमुकाम खाँदबारीमा प्रेस सेन्टरद्वारा शनिबार आयोजित पत्रकार भेटघाटमा दाहालले अहिलेको राजनीतिक परिस्थितिमा सर्वपक्षीय वा सर्वदलीय सरकार निर्माणको सम्भावना टरिसकेको स्पष्ट पारे । दाहालका अनुसार अहिलेको सरकार निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा सक्षम छ ।
अब देशको ध्यान नयाँ जनादेश तथा प्रतिनिधिसभा निर्वाचनतर्फ केन्द्रित हुन आवश्यक रहेको उनको भनाइ छ । ‘निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन् । देश अब चुनावतर्फ होमिएको छ,’ उनले भने ।
उनले अब सरकार पुनर्गठनको सम्भावना नरहेको पनि बताए । ‘जेनजीदेखि जनयुद्ध–जनवादी आन्दोलनका युवापुस्ता निर्वाचनको पक्षमा छन् । कुनै शंका वा अनिश्चितताको अवस्था छैन,’ दाहालले भने ।
उनले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने क्षमता वर्तमान सरकारसँग भएको बताए । दाहालले संविधानसभाको समयदेखि गरेको वचन सम्झाउँदै भने, ‘संविधान निर्माण गर्दा नै हामीले वाचा गरेका थियौँ । १० वर्षपछि संविधानको समीक्षा गरी सकारात्मक र नकारात्मक पक्षका आधारमा आवश्यक संशोधन र परिमार्जन गर्नेछौँ ।’
उनले जेनजी आन्दोलनको मर्मभावनाअनुसार जनादेशको सम्मान गर्दै नयाँ निर्वाचनमा जानैपर्ने बताए । ‘निर्वाचनको प्रक्रिया पहिले नै सुरु भइसकेको छ । यस परिस्थितिमा संसद् पुनःस्थापना हुने अवस्था छैन । अहिलेको सरकारले नै निर्वाचन सम्पन्न गराउनुपर्नेछ,’ दाहालले भने ।
























