कांग्रेसमा महाधिवेशनको किचलो: विवाद सुल्झाउन आज पदाधिकारी बैठक बस्दै

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २०, आइतबार ११:४८

काठमाडौँ । महाधिवेशनको मिति सार्ने निर्णयसँगै नेपाली कांग्रेसभित्र चर्किएको विवाद समाधानका लागि आज पदाधिकारी बैठक बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका र विशेष महाधिवेशनको मागका विषयमा छलफल हुने सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा १५ औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो। तर, यो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहरूले लिखित ‘फरक मत’ राखेका छन्।

महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै पुस मसान्तभित्रै विशेष महाधिवेशन गरेरै छोड्ने घोषणा गरेका छन्। कांग्रेस विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएमा ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। असोज २९ गते नै २ हजार ४८८ प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाइसकेकाले सोही आधारमा अघि बढ्नुपर्ने थापाको अडान छ।

संस्थापन पक्षले भने मङ्सिर १५ मा नियमित महाधिवेशनको मिति तोकिएसँगै पुराना हस्ताक्षरहरू स्वतः निष्क्रिय भइसकेको दाबी गर्दै आएको छ। बहुमतले मिति सार्ने र अल्पमतले विशेष महाधिवेशनको अडान राख्ने अवस्थाले कांग्रेसभित्र वैधानिक संकट र नेतृत्वबीचको अविश्वास झन् गहिरिएको छ। आजको बैठकले यी दुई धारबीच सहमति खोज्ने प्रयास गर्नेछ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.