
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रिय सभाका दलका नेता कृष्णप्रसाद सिटौलाले आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पारेका छन्। सोमबार पत्रकारहरूसँगको कुराकानीमा नेता सिटौलाले प्रतिनिधि सभामा एक्लै चुनाव लड्ने पार्टीको ‘बटम लाइन’ रहेको बताएका हुन्।
उनले निर्वाचनमा पार्टीको रणनीतिको विषयमा बोल्दै भने, ‘प्रतिनिधि सभामा गठबन्धन नगर्ने कांग्रेसको स्पष्ट नीति हो, तर राष्ट्रिय सभा निर्वाचनमा भने आवश्यकता अनुसार रणनीतिक तालमेल हुनसक्छ।’
पार्टीभित्रको आन्तरिक विवाद र विशेष महाधिवेशनको मागका सम्बन्धमा सिटौलाले कडा टिप्पणी गरे। उनले पार्टीमा अहिले विशेष महाधिवेशनको कुनै सम्भावना नरहेको र त्यसो हुन पनि नदिने ठोकुवा गरे। ‘विशेष महाधिवेशन हुँदैन, हामी हुन दिँदैनौँ। कांग्रेस चिरा होस् र कमजोर होस् भन्ने धेरैको चाहना होला, तर हामी पार्टीलाई फुट्न दिँदैनौँ,’ उनले भने।
विशेष महाधिवेशनको माग राख्दै हस्ताक्षर अभियान चलाइरहेका महाधिवेशन प्रतिनिधिहरूलाई काठमाडौँ नधाउन आग्रह गर्दै सिटौलाले सबैलाई आ-आफ्नो क्षेत्रमा पुगेर चुनावको तयारीमा लाग्न निर्देशन दिए। पार्टीभित्रको आन्तरिक कलहले विपक्षीलाई मात्र बल पुग्ने भन्दै उनले एकताको सन्देश लिएर गाउँ जान कार्यकर्तालाई आह्वान गरे।
























