स्रोत नखुलेको साढे २ लाख नगदसहित भारतीय महिला पक्राउ

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २१, सोमबार १३:३०

रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ अवैध रूपमा नगद भित्र्याउँदै गरेकी एक भारतीय महिलालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। गौर भन्सार अगाडि खटिएको प्रहरी चेकिङ टोलीले आइतबार दिउँसो भारत बिहारको सितामढी जिल्ला बैरगनिया निवासी ४५ वर्षीया रामकली देवीलाई पक्राउ गरेको हो।

पैदल सीमा पार गर्दै गरेकी ती महिलाको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरी हवल्दार बुधराम महतोको नेतृत्वमा रहेको टोलीले जाँच गरेको थियो। खानतलासीका क्रममा उनको साथबाट कुल २ लाख ५० हजार ३ सय ६० नेपाली रुपैयाँ बराबरको नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले जानकारी दिए।

बरामद रकममा नेपाली १ हजारका १८० थान, ५ सयका १३३ थान र १०० का ३७ थान नोट रहेका छन् भने भारतीय १०० को एक थान नोट पनि फेला परेको छ। पक्राउ परेकी महिलाले उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले नगदसहित उनलाई नियन्त्रणमा लिएको हो।

अवैध आर्थिक गतिविधि र हुन्डी कारोबार रोक्न सीमा क्षेत्रमा निगरानी बढाइएको सन्दर्भमा यो पक्राउलाई महत्वपूर्ण मानिएको छ। पक्राउ परेकी महिलामाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.