
विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट स्थानीय ५० वर्षीय विजय साहको मृत्यु भएको घटनाको इन्सेक कोशी प्रदेश कार्यालयले स्थलगत अनुगमन गरेको छ ।
इन्सेक टोली साेमबार घटनास्थल पुगेर पीडित परिवार, स्थानीयवासी र सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरी तथ्य सङ्कलन गरेको हो ।
गत पुस १७ गते बिहान १ बजे तस्करी नियन्त्रणका क्रममा सशस्त्र प्रहरीको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे सशस्त्र प्रहरीले चिनी तस्करी रोक्न खोज्दा गोली चलेको बताएको छ भने गोली प्रहार गर्ने हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।
इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेल नेतृत्वको टोलीले घटनास्थलको अवलोकन र सरोकारवालासँगको छलफलपछि सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । घटनापछि उत्पन्न तनावका क्रममा १२ जना सुरक्षाकर्मी घाइते भएका थिए भने केही भौतिक संरचनामा क्षति पुगेकाे थियाे ।



















