
काठमाडौँ । नेपाली कांग्रेसभित्र आगामी आम निर्वाचनअघि नै १५ औँ महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ। पाँच दिनअघि सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालाई भेटेको यस समूहले मंगलबार बिहान इतर समूहको नेतृत्व गरिरहेका कोइरालासँग संवाद गरेको हो।
विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान ८:३० बजेदेखि करिब दुई घण्टा चलेको छलफलमा महाधिवेशनको कार्यतालिकालाई लिएर पार्टीभित्र देखिएको विवाद समाधानका लागि ‘मध्यमार्गी’ निकास खोज्नेबारे कुराकानी भएको छ।
केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र चुलिएको टसल व्यवस्थापन गर्न विभिन्न मोडालिटीमाथि छलफल भइरहेको छ। ‘मध्यमार्गी लाइनबाट डा. शेखरसँग छलफल भयो। अहिले जुन टसल देखिएको छ, त्यसलाई व्यवस्थापन गर्न दुई-तीनवटा मोडालिटीमाथि विचार गरिरहेका छौँ,’ शेर्पाले भने।
मोडालिटीलाई अन्तिम रूप दिएपछि सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू र विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाइरहेको समूहसँग संयुक्त छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्। १५ औँ महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र बहस तातिरहेका बेला संस्थापन पक्षकै यो समूह निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने पक्षमा देखिएको छ।
























