नेपाली कांग्रेसले आजै राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार टुङ्गो लगाउने

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २२, मंगलबार १७:१३

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको नामावली आजै मंगलबार टुङ्गो लगाउने भएको छ। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार अहिले स्थगित भएको कार्यसम्पादन समितिको बैठक आजै पुनः बसेर उम्मेदवारहरूको अन्तिम चयन गरिनेछ। प्रवक्ता महतले राति अबेरसम्म बसेर भए पनि उम्मेदवार तय गरिने जानकारी दिएका छन्।

आगामी माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसले अन्य दलहरूसँग चुनावी तालमेल गर्ने प्रयास गरिरहेको छ। दलहरूबीच भएको प्रारम्भिक सहमति अनुसार कांग्रेस र एमालेलाई सात-सात सिट, नेपाली कम्युनिस्ट पार्टीलाई ३ सिट र जसपा नेपाललाई १ सिट दिने समझदारी बनेको छ। यद्यपि, कुन क्लस्टरमा कुन पार्टीका उम्मेदवार उठाउने भन्ने विषयमा भने अझै छलफल जारी रहेको नेता रमेश लेखकले बताएका छन्।

दलहरूबीच सिट बाँडफाँटको मोटामोटी खाका तयार भए पनि क्लस्टर र उम्मेदवारको नाममा सहमति जुटाउन कांग्रेसले आन्तरिक छलफललाई तीव्र पारेको छ। कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूको नाम टुङ्गो लगाएपछि गठबन्धनका अन्य दलहरूसँग अन्तिम चरणको छलफल हुने देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.