
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले आगामी पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्। महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो।
महाधिवेशन पक्षधरहरूको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी यसबारे औपचारिक जानकारी दिएका हुन्। उनले पार्टीको विधान र वर्तमान अवस्थालाई मध्यनजर गर्दै विशेष महाधिवेशनको विकल्प नरहेको उल्लेख गरे। भृकुटी मण्डपमा हुने यो महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तय गर्ने दाबी समेत उनले गरे।
नेपाली कांग्रेसभित्र लामो समयदेखि विशेष महाधिवेशनको माग उठ्दै आएको सन्दर्भमा यो घोषणाले पार्टीको आन्तरिक राजनीतिमा नयाँ मोड ल्याएको छ। संस्थापन पक्ष र महाधिवेशन पक्षधरबीचको यो खिचातानीले आगामी दिनमा कांग्रेसको सांगठनिक ढाँचा र नेतृत्वमा कस्तो असर पार्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ।
























