
विराटनगर । रिक्त हुन लागेको राष्ट्रियसभा सदस्य पदका लागि कोशी प्रदेशमा बुधबार मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी तस्बिर स्पष्ट भएको छ ।
राष्ट्रियसभा चुनावमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच बनेको गठबन्धनको दबदबा देखिएको छ । चुनावी गठबन्धनअनुसार उम्मेदवारी दर्ता भएसँगै ‘अन्य’ समूहमा कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित हुने अवस्था बनेको छ । दलित र महिला समूहमा भने प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस–एमाले गठबन्धन र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार कोशी प्रदेशबाट राष्ट्रियसभामा दलित, महिला र अन्य समूहबाट १–१ गरी ३ जना सदस्य निर्वाचित हुनेछन् ।
कांग्रेस–एमालेबीचको पूर्व सहमतिअनुसार दलित र महिला समूहको सिट एमालेले पाएको छ भने अन्य समूह कांग्रेसको भागमा परेको छ । सोहीअनुसार एमालेले दलिततर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेको उम्मेदवारी दर्ता गराएको छ । पोर्तेलका प्रस्तावक एकराज कार्की र समर्थक छवि चुडाल छन् भने मेचेका प्रस्तावक शोभा चेम्जोङ र समर्थक सृजना राई रहेका छन् ।
अन्य समूहबाट कांग्रेसका सुनील थापाले उम्मेदवारी दर्ता गराएका छन् । थापाका प्रस्तावक उद्धव थापा र समर्थक रेगिना भट्टराई छन् ।
उक्त समूहमा थापाबाहेक अरु कुनै उम्मेदवारको मनोनयन नपरेपछि उनी एकल उम्मेदवार बनेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार औपचारिक प्रक्रिया पूरा भएपछि पुस २७ गते थापा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।

यता, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दलित र महिला समूहमा आफ्ना उम्मेदवार मैदानमा उतारेको छ । नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
न्यौपानेका प्रस्तावक गणेश उप्रेती र समर्थक गीता तिम्सिना छन् भने सुन्दासका प्रस्तावक सपना परियार र समर्थक नमोनारायण माझी रहेका छन् । तर, अन्य समूहका लागि तय गरिएका उम्मेदवार हेमराज घिमिरे समयमै निर्वाचन अधिकृतको कार्यालय नपुग्दा उक्त समूहमा नेकपाको उम्मेदवारी दर्ता हुन सकेन । यही कारण ‘अन्य’ समूहमा कांग्रेसका थापा निर्विरोध हुने अवस्था बनेको हो ।

राष्ट्रियसभाको रिक्त १८ पदका लागि देशभर माघ ११ गते निर्वाचन हुँदैछ । तीमध्ये कोशी प्रदेशबाट ३ जना निर्वाचित हुनेछन् । अन्य समूहमा परिणाम लगभग तय भइसके पनि दलित र महिला समूहमा भने कांग्रेस–एमाले गठबन्धन र नेकपाबीच प्रतिस्पर्धा हुनेछ ।
तर, उक्त प्रतिस्पर्धामा पनि गठबन्धनको मतभार धेरै छ । जसका कारण दुवै पदमा गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना प्रवल छ ।
कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कुल ३ सय ६७ मतदाता छन् । ९३ प्रदेशसभा सदस्यको मतभार ५३ र २ सय ७४ स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ तोकिएको छ ।
प्रदेश र स्थानीय तह मिलाएर एमालेको ४ हजार २ सय १०, कांग्रेसको ३ हजार ६ सय ८४ र माओवादी केन्द्र तथा एकीकृत समाजवादीसहितको नेकपाको १ हजार ६ सय ४२ मतभार छ । कांग्रेस–एमाले गठबन्धनको कुल मतभार ७ हजार ८ सय ९४ पुग्छ । यही गठबन्धनमा रहेको जसपाको १ सय २९ मतभार छ भने राप्रपाको ३ सय ९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
यसअघिका दुई राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन हुँदाहुँदै पनि परिणाम अपेक्षाअनुसार नआएको इतिहास छ । २०७८ र २०८० सालका निर्वाचनमा मत क्रस हुँदा ठूला गठबन्धनहरू पराजित भएका उदाहरण छन् ।
मनोनयन दर्तासँगै कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनले स्पष्ट राजनीतिक दिशा लिएको छ । एकातर्फ कांग्रेस–एमाले गठबन्धनले संगठन र मतभारको बल देखाएको छ भने अर्कोतर्फ नेकपाले सीमित मतभारका बीच पनि प्रतिष्पर्धात्मक उपस्थिति जनाउने प्रयास गरेको छ ।
अब माघ ११ गते हुने मतदानले दलित र महिला समूहमा अन्तिम फैसला गर्नेछ । जबकि ‘अन्य’ समूहमा सुनील थापाको राष्ट्रियसभा यात्रा औपचारिक घोषणाको प्रतीक्षामा मात्र सीमित भएको छ ।
























