हेमराजलाई ढिलाे हुँदा सुनील थापा निर्विराेध

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २३, बुधबार १९:२९

विराटनगर । नेपाली कांग्रेस नेता सुनील थापा राष्ट्रियसभा सदस्य निर्विराेध निर्वाचित भएका छन् ।

उनी राजावादी नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । राप्रपाको राजनीति संकटमा परेपछि २०७७ सालमा सुनील नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

बुधबार मनाेनयन दर्ता गरेका थापा कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भए  । विपक्षी नेकपाका उम्मेदवार समयमा नै आइनपुगेपछि कांग्रेसका थापाका लागि राष्ट्रियसभाको ढोका बिना कुनै प्रतिस्पर्धा खुल्यो ।

राष्ट्रियसभामा नेकपाले हेमराज घिमिरेलाई उम्मेदवार बनाएकाे थियाे । संखुवासभाबाट विराटनगर  आउन ढिलाे भएपछि थापा निर्विराेध भए । राष्ट्रियसभा सदस्यमा उम्मेदवार बन्नका लागि थापाले राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयबाट राजीनामा  दिएका थिए ।

२०७९ चैत १६ गते थापालाई राष्ट्रपतिको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए । त्यस बेला थापा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्य थिए ।

उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र– २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष सीट विजयी भएका थिए ।

यो उनको बुबा सुर्यबहादुर थापाको क्षेत्र हो । उनी २०७४ जेठमा बनेको शेरबहादुर देउवाको मन्त्रीमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।

२०७९ सालको निर्वाचनमा धनकुटा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका राजेन्द्रकुमार राईसँग पराजित भएका थिए । राईले ३० हजार १०१ मत ल्याउँदा थापाले २८ हजार ७०४ मत ल्‍याएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.