
काठमाडौं । खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आइतबार नयाँ पुस्ता र राष्ट्रको नाममा भिडियो सन्देश जारी गर्दै उनले आफू नयाँ पुस्ताकै सोच बोकेर हिंडेको यात्री रहेको बताउँदै खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको बताएका हुन् ।
हार नमान्ने र आफ्ना काम अझै नसकिएको उनकाे भनाई छ ।
‘यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला । तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन,’ प्रचण्डले भनेका छन्, ‘तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईँहरूको स्वतन्त्रता र अधिकार हो, तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ । म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन ।’
























