
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र बन्दै गएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका अनुसार २५ जिल्लाका लागि आवश्यक मतपत्र छापिसकिएको हो । बाँकी जिल्लाका मतपत्र छपाइ चलिरहेको आयोगले जनाएको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ कार्य नियमित रूपमा भइरहेको छ। तोकिएको समयसीमाभित्र सबै जिल्लाको मतपत्र छपाइ सक्ने गरी व्यवस्थापन मिलाइएको आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ यसअघि नै २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ । मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २ सय थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।
नमूना मतपत्रमार्फत मतदातालाई मतदान प्रक्रिया, मतपत्रको प्रयोग र सही तरिकाले मत खसाल्ने विषयमा जानकारी दिइने छ । त्यस्तै, निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १ सय ५८ प्रकारका निर्वाचनसम्बन्धी सामग्री स्वीकृत गरी सार्वजनिक गरेको छ ।
ती सामग्री आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत प्रसारण भइरहेका छन् । आयोगका अनुसार यस्ता सामग्रीले मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित गर्दै आधिकारिक र विश्वसनीय सूचना प्रवाह गर्न मद्दत पुर्याउनेछ ।
निर्वाचनसम्बन्धी तयारीबारे अन्तरराष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले आयोगको समन्वयमा परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधिहरूलाई ब्रिफिङ पनि गरेको छ । आयोगले निर्धारित मितिमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय हिसाबले निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

























