
काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष (७ दशक) पूरा भएको छ । उक्त ऐतिहासिक अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।
द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षासहितको यो भ्रमणलाई नेपाल–जापान सम्बन्धको नयाँ चरणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । राष्ट्रपति पौडेल सोमाबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट जापानको टोकियोतर्फ प्रस्थान गरेका हुन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद् सदस्यहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू तथा नेपालका लागि जापानी राजदूतले राष्ट्रपति पौडेललाई औपचारिक रूपमा बिदाइ गरेका थिए । पौडेलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारीहरू तथा राष्ट्रपति कार्यालयका पदाधिकारीहरू सहभागी छन् ।
भ्रमण सकेर राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमण गरेका हुन् ।
भ्रमणका क्रममा सोमबार नै जापान सरकारद्वारा आयोजना गरिने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुने कार्यक्रम रहेको छ । उक्त समारोहलाई नेपाल–जापान सम्बन्धको ७ दशक लामो यात्राको सम्मान र भावी सहकार्यका सम्भावनाहरूको उत्सवका रूपमा लिइएको छ ।
भ्रमण कार्यतालिकाअनुसार माघ २० गते मंगलबार राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नेछन् । सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि राष्ट्रपति पौडेलको औपचारिक भेटवार्ता हुने तय भएको छ ।
यी भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, व्यापार, लगानी, विकास सहायता तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । यसका साथै जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागी भई नेपालमा लगानीका सम्भावना, व्यापारिक सहकार्य र आर्थिक साझेदारीका विषयमा धारणा राख्नेछन् । जापानस्थित नेपाली राजदूतावासले राष्ट्रपति पौडेलको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा समेत उनको सहभागिता रहनेछ ।
नेपाल–जापान सम्बन्धको इतिहास लामो र बहुआयामिक छ । अठारौँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको भनिने आपसी सम्पर्क १९५६ सेप्टेम्बर १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएसँगै संस्थागत रूपमा अघि बढेको हो ।
मित्रता, सद्भाव र सहयोगमा आधारित सम्बन्धले समयक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, मानव संशाधन विकास र सांस्कृतिक आदानप्रदानजस्ता क्षेत्रमा उल्लेखनीय योगदान दिएको छ । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा आफ्ना दूतावास स्थापना गरेका थिए ।
जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत सञ्चालनमा रहेको छ । जसले आर्थिक र व्यापारिक सम्बन्ध प्रवर्द्धनमा भूमिका खेल्दै आएको छ । इतिहासकारहरूका अनुसार जापानी बौद्ध भिक्षु रेभ एकाइ कावागुची सन् १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थहरूको खोजीमा तिब्बत जाने क्रममा नेपाल आएका थिए ।
उनले आफ्ना लेखन र प्रकाशनमार्फत जापानमा नेपालको परिचय गराउँदै लुम्बिनीको धार्मिक र सांस्कृतिक महत्व उजागर गरेका थिए । यसले नेपाल–जापान जनस्तरको सम्बन्धलाई प्रारम्भिक चरणमै जोड्ने काम गरेको मानिन्छ ।
राणा शासनकालमा सन् १९०२ मा ८ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएपछि नेपालीहरू जापानी शिक्षा, संस्कृति र प्रविधिसँग अझ नजिक भएको इतिहास छ । त्यसयता उच्चस्तरीय भ्रमण आदानप्रदान, विकास सहयोग र आपसी विश्वासले नेपाल–जापान सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै आएको हो ।
राष्ट्रपति पौडेलको जापान भ्रमण औपचारिक कार्यक्रममा सीमित नभएर ऐतिहासिक सम्बन्धको पुनः पुष्टि, भविष्यका सहकार्यका सम्भावनाहरूको खोज र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ । ७ दशक लामो मित्रतालाई सम्झँदै सुरु भएको भ्रमणले नेपाल–जापान सम्बन्धमा थप ऊर्जा र स्पष्ट दिशा दिने अपेक्षा गरिएको छ ।

























