पूर्वमन्त्री जितेन्द्र देवले छाडे एमाले

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १२:०८

काठमाडौं। संविधान सभा सदस्य एवं पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन्।

देवले पार्टीभित्र मौलाउँदै गएको व्यक्तिवाद र नेतृत्वलाई देवत्वकरण गर्ने प्रवृत्तिका कारण आफू अलग्गिएको बताए। विज्ञप्तिमा उनले पार्टी स्वेच्छाचारी र विभेदकारी ढङ्गले सञ्चालन भइरहेको आरोप लगाउँदै एमालेको वर्तमान विचार, नीति र व्यवहारसँग सहमत हुन नसकिने उल्लेख गरेका छन्।

सप्तरीका देवको राजनीतिक यात्रा लामो समय एमालेमै बितेको थियो। तर, पछि एमाले छाडेर उनी विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए। सोही पार्टीबाट उनी संविधान सभा सदस्य र मन्त्री समेत बनेका थिए।

गच्छदार नेतृत्वको पार्टी नेपाली कांग्रेसमा विलय भएपछि देव पनि कांग्रेसमा सक्रिय भएका थिए। उनी नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य समेत चयन भएका थिए। केही समयअघि मात्रै उनी पुनः एमालेमा फर्किएका थिए, तर छोटो समयमै पुनः पार्टी परित्याग गरेका हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.