
काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकमा २ महत्त्वपूर्ण संसदीय समितिका प्रतिवेदनहरू पेस भएका छन्। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापतिहरूले आफ्ना प्रतिवेदन प्रस्तुत गरे।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ सभामा पेस गरे। प्रतिवेदन पेस गर्ने क्रममा उनले अध्यागमन व्यवस्थापनसँग सम्बन्धित विधेयकका प्रावधान र समितिको अध्ययनबारे राष्ट्रियसभाका अध्यक्षलाई जानकारी दिए।
यस्तै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ पेस गरिन्। उनले उक्त प्रतिवेदनमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरेकी छन्।

























