
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभालाई पहिलोपटक सम्बोधन गरेकी छन्। प्रधानमन्त्री नियुक्त भएपछि माथिल्लो सदनमा उनले सोमबार पहिलो पटक आफ्नो धारणा राखेकी हुन्।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले आफू रहरले नभई विशेष परिस्थितिका कारण यो जिम्मेवारीमा आइपुगेको बताएकी छन्। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रमले आफूलाई प्रधानमन्त्रीको पदसम्म पुर्याएको उनले उल्लेख गरिन्।
‘जीवनमा यस्तो मौका पनि आयो, जुन परिस्थितिले ल्याएको हो। यो मेरो रहर थिएन र मैले खोजेर हिँडेको पनि थिइनँ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘परिस्थितिले बाध्य बनाएर म यहाँ आएँ। अहिले जुन अवसर पाएकी छु, सायद जीवनमा फेरि यस्तो मौका पाउन कठिन छ, मैले आशा पनि गरेकी छैन।’
उनले संसद्मा उभिएर बोल्न पाउनुलाई जीवनको एक महत्वपूर्ण र सुखद अनुभवका रूपमा लिएको बताएकी छन्। समयले जुराएको यो मोडलाई आफूले सकारात्मक रूपमा लिएको र सदनलाई नजिकबाट हेर्ने तथा आफ्ना कुरा राख्ने मौका पाएकोमा उनले खुसी व्यक्त गरिन्।

























