
काठमाडौँ । भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको आत्माको शान्तिको कामना गर्दै नयाँ बानेश्वरस्थित संसद् भवनको मुख्य गेट अगाडि हवन गरिएको छ। ‘नेत्रवाद दर्शन’ समूहले आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झना र उनीहरूको अधुरो सपना पूरा गर्ने संकल्पका साथ आइतबारदेखि होम-यज्ञ तथा विशेष पूजा सुरु गरेको हो।
एक महिनादेखि माइतीघर मण्डलामा निरन्तर आन्दोलनरत यस समूहले संसद् भवनको मूल प्रवेशद्वारलाई नै अनुष्ठान स्थल बनाएको छ। आन्दोलनका क्रममा भएको क्षति र सहिदहरूको बलिदानलाई राज्यले उचित सम्मान दिनुपर्ने उनीहरूको माग छ।
आयोजक एवं ‘नेत्रवाद दर्शन’ की अभियन्ता स्मृति राईले यो पूजा केवल धार्मिक अनुष्ठान मात्र नभई एक प्रकारको सांकेतिक विद्रोह भएको बताएकी छन्। उनले देशमा विद्यमान राजनीतिक अस्थिरता र संवैधानिक संकट समाधानका लागि अध्यात्म र दबाबलाई सँगै लगिएको उल्लेख गरिन्।

























