एउटै जहाज चढेर झापा झरे बालेन र राजेन्द्र लिङ्देन

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १९:०६

झापा । फरक राजनीतिक धारका २ चर्चित नेताहरू एकैसाथ झापा उत्रिँदा स्थानीय राजनीतिक वृत्तमा अस्वाभाविक चासो देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार साँझ एउटै जहाज चढेर झापा आइपुगेका हुन् । यति एयरलाइन्सको नियमित उडानमार्फत साँझ ५ बजे उनीहरू चन्द्रगढी विमानस्थलमा अवतरण गरेका थिए ।

बालेनको आगमनसँगै विमानस्थल परिसरमा समर्थक, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य भिड देखिएको थियो । कतिपयले फूलमाला बोकेर स्वागतको तयारी गरेका थिए भने धेरैजसोले नजिकबाट बालेनलाई देख्ने र भेट्ने प्रयास गरेका थिए ।

छोटो समयमै विमानस्थल क्षेत्र राजनीतिक र सामाजिक चहलपहलले भरिएको देखिन्थ्यो । विमानस्थलमा उत्रिएपछि बालेन केही समय समर्थकहरूसँग संक्षिप्त भेटघाट गर्दै चन्द्रगढीबाट सिधै आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने दमकतर्फ प्रस्थान गरेका छन् । उनीसँग पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा छन् ।

उनको आवागमन शान्तिपूर्ण र सामान्य रहेको थियो । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बालेनको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।

उही उडानमार्फत झापा आइपुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि स्थानीय राजनीतिका दृष्टिले महत्त्वपूर्ण व्यक्तित्व हुन् । झापा क्षेत्र नम्बर ३ का पूर्वप्रतिनिधिसभा सदस्य समेत रहेका लिङ्देनको आगमनलाई पनि विभिन्न राजनीतिक भेटघाट र कार्यक्रमसँग जोडेर हेरिएको छ ।

विमानस्थल परिसरमै बालेन र लिङ्देन हाँस्दै हात मिलाएर छुट्टिएको दृश्यले उपस्थित सर्वसाधारण र सञ्चारकर्मीको ध्यान तानेको थियो । फरक विचार, फरक दल र फरक राजनीतिक एजेन्डा बोकेका यी २ नेताको एउटै जहाज यात्राले राजनीतिक वृत्तमा विभिन्न अड्कल र टिप्पणी जन्माएको छ ।

बालेनको झापा आगमनलाई आगामी चुनावको प्रचारप्रसार, कार्यकर्ता भेटघाट तथा स्थानीयस्तरको संवादसँग जोडेर हेरिएको छ । यद्यपि, उनी झापामा कति समय बस्ने, कुन–कुन कार्यक्रम सहभागी हुने भन्ने विषयमा अहिलेसम्म कुनै औपचारिक तालिका सार्वजनिक गरिएको छैन । उनको उपस्थितिले भने झापाको राजनीतिक माहोलमा नयाँ ऊर्जा र उत्सुकता थपिएको देखिन्छ ।

एकातिर नयाँ राजनीतिक विकल्पका रूपमा स्थापित हुँदै गएको रास्वपाका चर्चित अनुहार बालेन र अर्कोतिर परम्परागत राष्ट्रवादी धारका अगुवा नेता लिङ्देनको एउटै जहाज यात्राको संयोगले झापामा राजनीतिक चर्चा अझ तातेको छ । एउटै जहाजको यात्रासँग जोडिएको यो विषयलाई कतिपयले संयोग मानेका छन् भने कतिपयले आगामी राजनीतिक घटनाक्रमसँग जोडेर हेर्न थालेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.