समानुपातिक बन्दसूची छानबिनपछि ७६ उम्मेदवार अयोग्य घोषणा

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १९:२२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले बुझाएको बन्दसूचीको प्रारम्भिक छानबिनपछि ७६ जना उम्मेदवारको नाम सूचिबाट हटाएको छ ।

उम्मेदवारविरुद्ध परेका उजुरी, कानुनी योग्यता नपुगेको अवस्था र राजनीतिक दलबाट प्राप्त थप विवरणका आधारमा नाम हटाउने निर्णय गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विभिन्न कानुनी तथा प्रक्रियागत कमजोरी देखिएका उम्मेदवारहरू बन्दसूचीमा कायम रहन नसक्ने निष्कर्षमा आयोग पुगेको हो ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका २१ जनाको नाम हटाइएको छ भने प्रदेशसभाको बन्दसूचीमा नाम रहेकाहरू समानुपातिक संघीय सूचीमा दोहोरिएको भन्दै २५ जनालाई हटाइएको छ । यसैगरी, आयोगले तोकेको जरिबाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर नपुगेका ४ जना, मतदाता नामावलीमा नामै नभएका १ जना र मतदाता नामावलीमा पिछडिएको क्षेत्रमा नपरेका २ जनाको नाम पनि बन्दसूचीबाट हटाइएको छ ।

महिलाको कोटामा पुरुष उम्मेदवारको नाम पेस गरिएको १ जना उम्मेदवार पनि अयोग्य ठहरिएका छन् । त्यस्तै, सम्बन्धित राजनीतिक दल आफैंले नाम हटाउन आयोगलाई अनुरोध गरेका १० जना र अन्य विविध कारण देखाइएका २ जनाको नाम पनि सूचिबाट हटाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

आयोगले सबै निर्णयको विस्तृत विवरण आफ्नो आधिकारिक ‘वेबसाइट’मार्फत सार्वजनिक गरिसकिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.