शीर्ष नेताको हार टार्ने गुप्त गणितः सिट साटासाटदेखि ‘डमी उम्मेदवार’सम्मको राजनीतिक सौदाबाजी

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार ०६:४७

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि हुने मध्यावधि निर्वाचन नजिकिँदै जाँदा देशका प्रमुख राजनीतिक दलहरू सार्वजनिक प्रतिस्पर्धाभन्दा बाहिर गुप्त सहकार्य, अघोषित गठबन्धन र सिट साटासाटको गम्भीर गृहकार्य एवं सौदाबाजीमा जुटेका छन् ।

खासगरी विगतमा शक्तिशाली मानिएका र हाल जोखिममा परेका शीर्ष नेताहरूलाई जोगाउने उद्देश्यले केही निर्वाचन क्षेत्रमा खुला गठबन्धनभन्दा बढी अघोषित तालमेललाई प्राथमिकता दिन थालिएको स्रोतको दाबी छ । चुनावी मैदानमा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त भइरहँदा भित्रभित्रै दलका शीर्ष तहमा भने ‘कुन नेता हार्न सक्छ ? कसलाई कसरी जिताउने ?’ भन्ने गणनाले राजनीति तातेको छ ।

यही डर र आशंकाले दलहरूलाई वैचारिक दूरी बिर्सेर व्यवहारिक सहकार्यतर्फ धकेलेको देखिन्छ । विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसको नेतृत्व सम्हालेका गगनकुमार थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका छन् ।

अघिल्लो निर्वाचनमा काठमाडौं–४ बाट सहज जित हात पारेका थापा यसपटक सुरक्षित क्षेत्र छाडेर तराई झरेपछि उनको जित सुनिश्चित छैन भन्ने आन्तरिक बुझाइ कांग्रेसमै देखिएको छ । यही कारण सर्लाही–४ मा थापालाई जिताउने रणनीति कांग्रेसको प्राथमिक एजेन्डा बनेको छ ।

सर्लाही–४ थापाका लागि सजिलो छैन । २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका अमरेशकुमार सिंह यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मैदानमा छन् । कांग्रेसले टिकट नदिएपछि विद्रोही बनेर जितेका सिंहसँग थापाको प्रतिस्पर्धा हुने निश्चित देखिएको छ । यही प्रतिस्पर्धालाई कमजोर पार्न अन्य दलसँग सहकार्यको खोजी भइरहेको स्रोतको भनाइ छ ।

उता झापा–५ मा पूर्वप्रधामन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली स्वयं उम्मेदवार छन् । लामो समयदेखि सुरक्षित मानिएको यो क्षेत्रमा यसपटक परिस्थिति उल्टिन सक्ने संकेत देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको उम्मेदवारीले ओलीलाई झस्काएको छ । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर साह झापा–५ बाट उम्मेदवार बनेपछि ओलीको जित सहज रहने समीकरण भत्किएको आमबुझाइ छ ।

विगतका निर्वाचनमा राप्रपासँग अघोषित तथा अन्य दलसँग घोषित सहकार्य गर्दै झापा–५ बाट ओलीले जित निकाल्दै आएका थिए । यसपटक पनि ‘जसरी भए पनि जित्ने’ लक्ष्यसहित ओलीले कांग्रेस, राप्रपा र नेकपा (नेपाली कम्युनिष्ट पार्टी)सँग औपचारिक र अनौपचारिक दुवै तहमा संवाद अघि बढाएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार झापा–५ मा कांग्रेसले एमालेका उम्मेदवार ओलीलाई सघाउने र सर्लाही–४ मा एमालेले कांग्रेसका थापालाई सघाउने विषयमा दलहरूबीच ‘मोटामोटी’ सहमति भइसकेको छ । यद्यपि, सार्वजनिक रूपमा यसका बारेमा कसैले बोलेका छैनन् ।

झापा–५ मा बालेन साहको चुनौती बढ्दै गएपछि ओलीले राप्रपासँग मात्रै नभएर नेकपासँग समेत सहकार्यको प्रस्ताव राखेको बताइन्छ । बदलामा झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रौतहट–१ मा नेकपा नेता माधवकुमार नेपाललाई सघाउने प्रस्ताव एमालेको रहेको स्रोतहरू बताउँछन् । यी प्रस्तावप्रति सम्बन्धित दलहरू सकारात्मक देखिएकाले निर्वाचन मिति नजिकिँदै जाँदा औपचारिक सहमतिको सम्भावना बलियो बन्दै गएको बताइन्छ ।

यति मात्रै नभएर केही निर्वाचन क्षेत्रमा अझ गहिरो राजनीतिक सौदाबाजीको चर्चा छ । स्रोतका अनुसार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई जिताउन एमालेका उम्मेदवारलाई ‘डमी’ बनाउने र त्यसको बदलामा ओलीलाई जिताउन नेकपाले आफ्ना उम्मेदवारलाई कमजोर बनाउने विकल्पमा समेत छलफल भएको छ ।

यस्तै, सर्लाही–३ बाट उम्मेदवारी दिएका नेकपा नेता नारायणकाजी श्रेष्ठलाई जिताउने विषयमा पनि आन्तरिक समन्वय चलिरहेको बताइन्छ । यसरी हेर्दा आगामी निर्वाचन जनताको मतभन्दा पनि शीर्ष नेताहरूको अस्तित्व जोगाउने प्रतिस्पर्धा बन्दै गएको संकेत मिलेको छ ।

सार्वजनिक रूपमा वैचारिक संघर्षको कुरा गर्ने दलहरू व्यवहारमा भने हारको डरले एकअर्कासँग हातेमालो गर्न बाध्य भएका छन् । चुनावी मैदानमा मतदाताले देख्ने उम्मेदवार र पर्दाभित्र तय हुने नतिजाबीचको दूरी यसपटक झन् फराकिलो हुँदै गएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.